आदित्य दाहालको क्षमता विज्ञानको लागि चुनौती : केपी ओली 



काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आदित्य दाहालको चैतन्य, दर्शन र विचार एवं गुरु विनाको सिकाइले विज्ञानलाई चुनौती दिएको बताएका छन्।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ दारिमबोटमा सोमबार आयोजित तेस्रो मोक्ष धाम काव्य–गोष्ठीमा बोल्दै ओलीले गुगल बोइको नामले चर्चित आदित्य दाहालको क्षमता विज्ञानको लागि समेत चुनौती भएको बताए।

‘आदित्यसँग अध्ययन एवं गुरु विना विभिन्न भाषामा ज्ञान, विचार, दर्शन लेख्न सक्ने अलौकिक क्षमता देखिन्छ, उहाँका सत्य विचार, सत्मार्ग, शान्ति र सुखका हितकारी चिन्तन मननयोग्य छन्’ उनले भने।

गोष्ठीमा एमालेका उपमहासचिव साहित्यकार प्रदीप ज्ञवालीले ‘काष्ठमण्डपमा एक्लो परेवा’ शीर्षकमा कविता वाचन गरेका थिए। गोष्ठीमा डा.बुनु दाहाल, मुराहरि सिग्देल, रामप्रसाद पन्त, ममता मिर्दुला, विजयध्वज थापा, सुष्मा आचार्यलगायत १७ जना कवि एवं कवयित्रीले आ–आफ्ना कविता वाचन गरेका थिए।

अलौकिक क्षमताका आदित्य दाहाल हाल १४ वर्षका भए। चार वर्षको उमेरदेखि ध्यान–साधनाको अभ्यास गर्न थाल्नुभएका आदित्यको सोही समयदेखि केही शारीरिक दुर्बलता रहेपछि परिवारले देश विदेशमा उपचारको प्रयास गरे पनि सफल हुन सकेको छैन। आदित्यकै नाममा गत वर्षदेखि पनौतीको दारिमबोटमा मोक्ष धाम धाम निर्माण सुरु गरिएको छ।

अध्यक्ष ओलीले निर्माणाधीन उक्त धाममा भइरहेको धार्मिक गतिविधिको जानकारीसमेत लिएका छन्। कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतको सहभागिता थियो।

मोक्ष धाम निर्माण समितिका संयोजक रामेश्वर थापाले हाल आदित्य स्तम्भको निर्माण भइरहेको जानकारी गराए। उनले धाम क्षेत्रमा एक सय आठ धार्मिक अनौठो र विलक्षण तथा कलात्मक र दिव्यताले भरिपूर्ण संरचना निर्माण हुने बताए।

उनका अनुसार ऋषि भूमि–यज्ञ भूमि नेपाललाई विश्वभर चिनाउने अलौकिक गन्तव्य बनाउने उद्देश्यका साथ आदित्य मोक्ष धाम निर्माण सुरु गरिएको हो।

मोक्ष धामलाई भविष्यमा योग, ध्यान, साधना, संस्कार र संस्कृतिका विशाल ज्ञान केन्द्रका रूपमा विकास गरी धार्मिक गन्तव्य बनाइने परियोजना तयार गरिएको छ।

प्रतिक्रिया दिनुहोस्