‘बाल गुरुले प्राप्त गरेका ज्ञानको वैज्ञानिकहरूले अनुसन्धान गरुन्’: केपी ओली



काभ्रे । 
पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालु गुरु आदित्यमा भएको ज्ञानको श्रोत पहिचान गर्न वैज्ञानिकहरूलाई अनुरोध गरेका छन् । श्रोत र गुरु विनाको ज्ञानबाट समुदायलाई प्रभावित गर्ने ज्ञान दिई रहेका बाल गुरु आदित्यका बारेमा वैज्ञानिकहरूले खोज र अनुसन्धान गर्न आवश्यक रहेको पूर्व प्रधानमन्त्री ओलीले बताए ।
‘मानिसमा वा अरु कसैमा ज्ञानका लागि गुरु वा कोही न कोही श्रोत आवश्यक छ, विना श्रोतको ज्ञान सम्भव हुँदैन’–पूर्व प्रधानमन्त्री ओलीले भने– ‘गुरु आदित्यले लेखेका ज्ञान र रचना असाधारण छन् । आदित्य स्कुल गएका छैनन् । पढेका पनि छैनन् । उनैले पनि लेखेका छन् गुरु चाहिन्छ । गुरु विनाको शिक्षा महत्त्व छैन ।
गुरु आदित्यकै गुरु छैन ।’ ‘विज्ञानको समस्या यहीँनेर छ । वैज्ञानिकहरूले खोज अनुसन्धान गर्नु पर्ने विषय यहीँ छ । विना गुरु, विना ज्ञान, विना स्कुल उहाँले दिनु भएको ज्ञान विज्ञानलाई समेत चुनौती हो । ज्ञान प्राप्त गर्ने माध्यम छ, श्रोत छैन । बाल गुरु आदित्यको मुख्य रहस्य नै यही हो । उहाँका हरेक भनाई गुरु बचनका रूपमा छन्’–पूर्व प्रधानमन्त्री ओलीले भने–‘कहाँबाट आए शब्द ? ८-९ वर्ष अघि लेखेका शब्दहरू नै विद्धान स्तरमा लेखिने खालका थिए । ४-५ वर्षको बच्चाले लेख्ने शब्दहरू कुनै विद्धान भन्दा कम थिएनन् । अत्यन्त उत्कृष्ट छन् ।
म आफैले मेरै आँखा अगाडी राखेर लेख्न लगाएको छु । खोज अनुसन्धान जरुरी छ । उहाँका थोरै कुराबाट धेरै कुरा सिक्न सक्छौँ । आदित्यलाई ओम आदीका रूपमा स्विकारेर अगाडी बढिरहनु भएकोमा धन्यवाद । सत्मार्ग, सत्विचार बाहेक अरु कुनै ज्ञान, हित बाहेक अहित, शान्ति बाहेक अशान्ति, सुख बाहेक कसै माथि दुख चिताउनु हुन्न । उहाँका चिन्तनहरु समाज र राष्ट्र हितमा छन् ।’
पनौती नगरपालिकाको कुशदेवी स्थित दारिम्बोटमा ओम आदी फाउन्डेशनद्वारा आयोजित  तेस्रो आदित्य मोक्ष धाम काव्य गोष्ठीमा सम्बोधनका साथै धाम निर्माणको अवलोकन समेत गरेका थिए ।
‘मोक्ष धाम आउनु अघि कविहरूलाई पुरानै विषयको रचना गर्ने र वाचन गर्ने विषय थिए’– पूर्व प्रधानमन्त्री ओलीले भने–‘मोक्ष धाम आउने कविहरूले नयाँ रचनाका लागि नयाँ विषय प्राप्त गर्नु भएको छ ।’ कवि नरेन्द्रबहादुर श्रेष्ठको दृष्टिकोण जरामा अर्थ खोज्दै कला प्रदर्शनी समेत गरिएको उक्त कार्यक्रममा सह आयोजक साहित्यिक पत्रकार संघ रहेको थियो । दर्जनौ कविहरूले कविता वाचन गरी तेस्रो आदित्य मोक्ष धाम काव्य गोष्ठीमा कला र संस्कृतिका बारेमा व्याख्या गरेका थिए ।
फाउन्डेसनका अध्यक्ष डा. उपेन्द्र महत्तोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याप्टेन रामेश्वर थापाले फाउन्डेसनको औचित्य, आवश्यकता र उक्त क्षेत्रमा निर्माण हुन लागेका १ सय ८ वटा संरचना मध्ये स्तम्भका बारेमा जानकारी गराएका थिए । सोही धाममा स्तम्भ निर्माण भइरहेको छ ।
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेल, विष्णु पौडेल, पूर्व मन्त्री प्रदीप ज्ञवाली, गोकुल बास्कोटा, पूर्व राज्य मन्त्री रेशम लामा, काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापा, रजिस्टार डा. अच्युत वाग्ले, नगर प्रमुखहरु अशोक ब्याञ्जु, रामशरण भण्डारी, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी प्रमुख एसपी वसुन्धरा खड्का, जनप्रतिनिधिहरु, कविहरु तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्