शक्तिखोर औद्योगिक क्षेत्रको विषय आगामी बजेटमा सम्बोधन हुन्छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगिक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसहित चितवनको कालिका नगरपालिकाबाट आएको नगरप्रमुख विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले औद्योगिक क्षेत्र स्थापनाको विषय आगामी बजेटमा सम्बोधन गर्ने बताएका हुन्।

चितवनको कालिका नगरपालिकामा शक्तिखोर औद्योगिक क्षेत्र बनाउने भनेर लामो समयदेखि प्रयास भए पनि बन्न सकेको छैन। भेटमा सहभागी कालिका नगरप्रमुख रेग्मीले शक्तिखोर औद्योगिक क्षेत्र स्थापनाका साथै समग्र कालिकाको विकास र समृद्धि तथा समावेशी शिक्षालगायत विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराइएको बताए।

प्रधानमन्त्री प्रचण्डले औद्योगिक क्षेत्र स्थापनाको विषय आगामी बजेटमा सम्बोधन गर्ने आश्वासन दिँदै अर्थमन्त्री वर्षमान पुनलाई रोकिएको बजेट निकासका लागि निर्देशनसमेत दिएको नगरप्रमुख रेग्मीले बताए।

भेटमा एमाले अध्यक्ष ओलीसहित अर्थमन्त्री पुन, एमाले उपमहासचिव विष्णु रिमाल, केन्द्रीय सदस्य कपिल पोखरेल, समावेशी शिक्षाविज्ञ तथा अभियन्ता डा बाबुराम ढुङ्गाना, बहिरा महासंघका निवर्तमान अध्यक्ष केपी अधिकारीलगायतको सहभागिता थियो।

भेटमा त्रिशूली डाइभर्सन, सामान्नीकरण अनुदान, समावेशी स्कुल स्थापनालगायत समग्र नगरको विकासका विषयमा पनि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराइएको नगरप्रमुख रेग्मीले बताए।

प्रतिक्रिया दिनुहोस्