सुनकोसीमा बेपत्ता बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन



काठमाडौं ।

सुनकोसी नदीमा बेपत्ता बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ। आइतबार होली खेल्ने क्रममा सुनकोसी नदीमा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको हो।

होली खेलेर नुहाउने क्रममा आइतबार उदयपुर त्रियुगा नगरपालिका-१४ ढाप्लाङस्थित सुनकोशी नदीमा तीन जना बालबालिका बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेपत्ता हुनेमा त्रियुगा- १४ साउनेका ११ वर्षीया बालिका रेखा मगर, सोही स्थानका बालकद्वय ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन्।

आइतबार साँझ अबेरसम्म सशस्त्र प्रहरी बल नं. ५ त्रियुगा गण उदयपुरले खोजतलास गरे पनि फेला नपरेपछि सोमबार बिहान कोशी प्रदेश स्थित नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर परिचालन गरिएको हो।

सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा ९ जना गोताखोरसहितको फौज परिचालन गरी खोजी कार्य सुरु गरिएको सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्