३९ जना सुकुम्वासीले पाए लालपुर्जा 



उदयपुर ।

 सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरे पनि उदयपुरको चौदण्डीगढी नगरपालिकाका ३९ घरपरिवारका सुकुमबासीले आइतबार जग्गाधनी प्रमाण पुर्जा पाएका छन् ।
उदयपुरमा राष्ट्रिय भूमि आयोगले यातायात, इन्धन, बैठक भत्ता र सेवासुबिधाका नाममा करोडौं रकम खर्च गर्दा ३९ जना सुकुम्वासीले जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका छन ।पहिलो चरणमा बेलका नगरपालिका ५  का ११ परिवार भूमिहीन सुकुम्वासीले गत २०७९ माघमा जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका थिए भने दोस्रो पटक आज चौदण्डीगढी नगरपालिका २ का २८ घरपरिवारका भूमिहीन सुकुम्वासी लालपुर्जा प्राप्त गरेका हुन ।

राज्यमा पटक पटक आयोग गठन र विघटन हुँदै राज्यकोषको अरबौँ रकम खर्च भएपनि अहिले सम्म अव्यवस्थित बसोबासीले समेत जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्न सकेका छैनन् ।

आइतबार चौदण्डीगढी नगरपालिकामा आयोग विघटन भएपनि नगरपालिकाले आफ्नो सक्रियता बढाएर २८ भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरेको हो ।गत चैत ८ गतेको मन्त्रिपरिषद् बैठकले  केशव पौडेल नेतृत्वको राष्ट्रिय भूमि आयोग विघटन गरेपछि भूमिहीन, दलित सुकुम्वासीले जग्गाधनी प्रमाणपुर्जा समयमा प्राप्त गर्ने कुरामा अझ संका उत्पन्न हुँदै गर्दा चौदण्डीगढी नगरपालिकाले भने प्रक्रिया पुरा भएका २८ लालपुर्जा आइतबार वितरण गरेको हो ।

लालपुर्जा बितरण गर्दै चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले आफूलाई हजारौँ पुर्जा बाँड्न पाउँदा मात्र खुसी हुने भन्दै २८ लालपुर्जा वितरणमा आफू खुसी नभएको जिकिर गरे उहाँले  नगरको तर्फबाट कानुन सम्मत गर्न सक्ने आवश्यक रकम विनियोजन गरेर समयमा आफना नगरबासीलाइ लालपुर्जा वितरण गर्न सहयोग गर्न खोज्दा विनियोजित रकम समेत खर्च हुन नसकेको दुखेसो ब्यक्त गर्दै केही दिन अघि सरकारले भूमि आयोग विघटन गरेको भएपनि उक्त विघटनले आफूहरूलाई कुनै असर नगर्ने दाबी गरे । मेयर लामाले नगरले गर्दै आएको भूमि सम्बन्धीको नापजाँच को काम निरन्तर रहने समेत बताए । मेयर लामाले अहिले वितरित लालपुर्जाले भूमिहीन सुकुम्वासीको जीवनमा परिवर्तन नहोला तर यो एउटा प्रक्रिया भएको भन्दै यसलाई निरन्तरता दिने जानकारी दिए ।

आइतबार चौदण्डीगढी नगरपालिका वडा नम्बर २ को वडा कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरेर २८ परिवारका भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिएको थियो । कार्यक्रममा आयोगका निवर्तमान जिल्ला सदस्यहरु, नापी शाखा उदयपुरका प्रमुख, भूमि सेवा केन्द्र चौदण्डीका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्