काभ्रेमा ज्येष्ठ यातायात मजदुरलाई नगद, उत्कृष्टलाई चाँदी



काभ्रे। 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल रुट इकाई समितिले हरेक वर्ष गर्दै आएको ज्येष्ठ यातायात मजदुर सम्मान कार्यक्रम अन्तर्गत यो वर्ष दुई मजदुरलाई नगद १ लाख १० हजारसहित सम्मान गरेको छ । साथै सम्मानित मजदुरका परिवारहरूको दुर्घटना बीमा गरिदिएको छ । पनौती रुट इकाईमा उत्कृष्ट मजदुरलाई चाँदीले सम्मान गरिएको छ ।

एक लाख १० हजार सहित सम्मानित हुने मजदुरहरुमा राजु स्याङताङ र लुभु तामाङ छन् । उनीहरू दुवै जनालाई काभ्रे बस सेवा प्रालीका अध्यक्ष वर्ण शाक्य, संगठनका अध्यक्ष अर्जुन लामा, काभ्रे सेवा प्रालीका सचिव कविर रञ्जित लगायतले दोसल्ला, सम्मानपत्र र नगद सहित सम्मान गरेका थिए । संगठनले गरेको यो सम्मान २६ र २७ औ हो । यस अघि २५ जना ज्येष्ठ यातायात मजदुर सम्मानित भइसकेका छन् ।

 संगठनका अध्यक्ष अर्जुन लामाले ज्येष्ठ यातायात मजदुर सम्मानसहित उत्कृष्ट चालक र सह चालक सम्मान गरिएको बताए । यो वर्ष सम्मानित हुने चालकहरुमा बुद्धिमान तामाङ र विशाल प्रधान रहेका छन् भने सह चालकहरुमा नरेश शिवभक्ति र शुशिल नेपाली रहेका छन् । उनीहरूलाई दोसल्ला, सम्मानपत्र सहित एक वर्षको परिवार सहितको दुर्घटना बीमा गरिदिएको छ ।

धुलिखेलमा आयोजित कार्यक्रममा संगठनका अध्यक्ष अर्जुन लामाले आगामी दिनमा मजदुरहरुको हक हित र ब्यवसायीक सुरक्षामा ध्यान दिने बताए । कार्यक्रममा प्रमुख अतिथि काभ्रे बस सेवा प्रालीका अध्यक्ष वर्ण शाक्यले मजदुरहरुको विश्वासमा ब्यवसायीहरुले लाखौँ लाख मूल्यका बसहरु जिम्मा दिएकाले ब्यवसायीहरुको हक हित मात्रै नभई यात्रुहरुको सुरक्षामा समेत ध्यान दिन अनुरोध गरे । दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना र सचेतना जस्ता कार्यक्रममा मजदुरहरुको सक्रियता रहनु पर्ने प्रमुख अतिथि शाक्यले बताए ।

 कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी लालध्वज सुवेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक जनार्दन घिमिरे, काभ्रे बस सेवा प्रालीका पदाधिकारीहरु, वडा अध्यक्ष गणेश आचार्य, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, संगठनका पूर्व पदाधिकारीहरु, बागमती प्रदेशका अध्यक्ष भीमसेन कार्की, संगठनका उपाध्यक्ष धनबहादुर ठकुरी लगायतले मजदुर हकहितका विषयमा धारणा राखेका थिए ।

संगठनले यही वर्ष देखि संगठनमा आबद्ध सदस्यका छोराछोरीहरु मध्येबाट एसईइमा उत्कृष्ट हुनेहरुलाई सम्मान गरेको छ । यो वर्ष संगठनका सल्लाहकार विश्व महाजुको छोरी दीक्षा महाजु र संगठनका कार्यालय प्रमुख अनिल श्रेष्ठको छोरी आरजु श्रेष्ठ सम्मानित भएका छन् ।

पनौती रुटका मजदुरलाई ‘चाँदी’ 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती रुट इकाईले फागु पूर्णिमाको अवसरमा बनभोजसहित उत्कृष्ट चालक तथा सह चालक सम्मानित गरेको छ । अध्यक्ष सुनिल धाँजुले हरेक वर्ष उत्कृष्ट चालक, सह चालकलाई सम्मान सहित वनभोज गर्ने कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिइएको बताए ।

 सम्मानित चालकलाई दुई तोल्ला र सह चालकहरुलाई डेड तोल्ला रहेको चाँदीको मायाको चिन्हो सहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । यो वर्ष देखि धेरै रिजर्भ गएर संगठनलाई लेबी बुझाउनेहरु मध्येबाट उत्कृष्ट चालकलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुने चालकहरुमा निराजन तिमल्सिना, डोलनाथ हुमागाईँ, अष्टबहादुर तामाङ, सन्तोष खत्री, दिनेश खुलाल रहेका छन् । ती मध्ये निराजन तिमल्सिना यो वर्ष उत्कृष्ट रिजर्भ गएर संगठनलाई शुल्क बुझाउने चालकका रुपमा सम्मानित भएका छन् । त्यस्तै सम्मानित हुने सह चालकहरुमा कमल थापा, राजु परियार, ललित विक र माधवनारायण नापित रहेका छन् ।

संगठनका अध्यक्ष धाँजुले संगठनलाई अझै मजबुत र पारदर्शी बनाउँदै जान संगठन भित्रको एकता, सक्रियता र कृयाशिलता आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा जिफन्टका उपाध्यक्ष विदुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले मजदुरहरुलाई राज्यका विभिन्न नीति नियमले संकट बनाएकाले कानुन संशोधन गर्न तथा मजदुर मैत्री कानुन ल्याउन माग गरे । त्यस्तै मजदुरहरुले गल्ती गर्ने छुट नभएको बताउँदै कथकथाचित हुने गल्तिहरुमा न्यूनतम सजायँ तोक्न, मजदुरलाई लार्पवाही नगरी सवारी साधन चलाउन र ट्राफिक प्रहरीले कहाँ निर गल्ती हुन्छ र कारबाही गरौला भन्ने सोच नराख्न अनुरोध गरे ।

 कार्यक्रममा काभ्रे पुण्यवती प्रा.लीका अध्यक्ष राजेशसुन्दर सैंजु, इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी लालध्वज सुवेदी, जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक जनार्दन घिमिरे, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, संगठनका केन्द्रिय उपाध्यक्ष नवराज घिमिरे, बागमती प्रदेश उपाध्यक्ष वेदप्रसाद घिमिरे, पनौती रुट इकाईका उपाध्यक्ष चन्द्रलाल श्रेष्ठ, एमाले जिल्ला कमिटी सदस्य तथा मजदुर इन्चार्ज शान्ति कार्की, नगर कमिटी जिफन्ट उपाध्यक्ष रिता तामाङ, संगठनका विभिन्न तहका नेताहरु, एमाले पनौती नगर कमिटी अध्यक्ष सुरेश हुमागाईँ, काभ्रे पुण्यवती प्रालीका कार्यालय प्रमुख शुभराज जोशी, विभिन्न संघ संगठनका अध्यक्षहरु, ब्यवसायीहरुको सहभागिता रहेको थियो ।

संगठनका सचिव परशुराम सापकोटाले संचालन गरेको कार्यक्रममा मजदुरहरुले संगठनको पारदर्शिता र मजबुतताका लागि सबै क्रियाशील हुनु पर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्