पाकिस्तानको ८४औँ राष्ट्रिय दिवस मनाइयो



काठमाडौँ। 

काठमाडौँस्थित पाकिस्तानी राजदूतावासले शनिवार पाकिस्तानको ८४औँ राष्ट्रिय दिवस मनाएको छ । सो अवसरमा नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले दूताबास परिसरमा पाकिस्तानको राष्ट्रिय झन्डा फहराएका थिए ।  सन् १९४० को मार्च २३ मा लाहोर सङ्कल्प पारित भएको दिनको सम्झनामा पाकिस्तानले हरेक वर्ष यो दिवस मनाउने गर्दछ ।

 काठमाडौंमा रहेका पाकिस्तानी नागरिकहरुको भेलालाई सम्बोधन गर्दै राजदूत हाश्मीले पाकिस्तानलाई समृद्ध बनाउन पाकिस्तानी जनताको संघर्षको निरन्तरताको स्मरण गरे । उनले नेपाल–पाकिस्तान सम्बन्धका मुख्य पक्षहरु र यो सम्बन्धलाई थप मजबुत बनाउन गरिरहेको प्रयासका बारेमा पनि प्रकाश पारे ।

कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीको सन्देश पढेर सुनाइएको थियो । सन्देशमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले मोहम्मद अली जिन्नाको दूरदर्शी नेतृत्व र पुर्खाहरूको बलिदानलाई सम्झिएका थिए । पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज शरीफले ‘पाकिस्तान दिवस’ को अवसरमा मुद्रास्फीति र आतंकवादलगायतका चुनौतीलाई पार गर्दै पाकिस्तानमा शान्ति, प्रगति र स्थायित्व कायम गर्ने संकल्प व्यक्त गरे ।

विदेशमन्त्री मोहम्मद इशाक दारले प्रवासी पाकिस्तानीलाई बधाई दिँदै देशवासीहरूलाई आफ्नो छनोट क्षेत्र, पेशा र उद्यममा उत्कृष्टता जारी राख्न आग्रह गर्दै पाकिस्तान राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको सर्वोच्चताको पक्षमा उभिएर आफ्नो अलग पहिचान बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस्