लुम्बिनीमा ई–टिकट:  पर्यटकलाई सहज

आर्थिक अनियमितता रोकिने मन्त्री तामाङको भनाई



बुटवल । 

लुम्बिनीको मायादेवी मन्दिर भ्रमणका लागि आउने पर्यटकहरुलाई लक्षित गरी लुम्बिनी विकास कोषले ई–टिकटको सुरुवात गरेको छ । शनिबार एक कार्यक्रमका बिच संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री हितमान तामाङले ई–टिकटको सुरुवात गरेका हुन् ।

ई–टिकटको सुरुवातले टिकट वितरणमा हुने कुनै पनि प्रकारको अनियमिततालाई रोक्ने मन्त्री तामाङको भनाई थियो । यो व्यवस्थाले लुम्बिनी आउने विदेशी पर्यटकलाई अझै सहज हुने उनले बताए ।

लुम्बिनी विकास कोषको आधिकारिक वेबसाइट https://tickets.lumbinidevtrust.gov.npमा गई टिकट काट्न सकिन्छ । नेपाली, भारतीय र अन्य मुुलुकका पर्यटकहरुका लागि अलग अलग रकम यस अघि नै कोषले तोकेको थियो । वेबसाइटमा आफूले लुम्बिनी भ्रमणको मिति सहितको टिकट काट्नुपर्छ । यसरी काटिएको टिकटको भुक्तानी ई सेवा, खल्ती, क्युआर, कार्ड नम्बर लगायतबाट गर्न सकिने कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए । कोषको भुक्तानी साझेदारको रुपमा माछापुच्छ्रेे बैंक रहेको छ ।

लुम्बिनी विकास कोषको आधिकारिक वेभसाईटबाट क्यामेरा, भिडियो क्यामेरा, व्यवसायिक फिल्म शुटिङ्ग, छोटो फिल्म लगायतको पनि टिकट काट्न सकिने व्यवस्था रहेको छ । अहिले नेपाली नागरिकको लागि मायादेवी मन्दिर दर्शनको लागि प्रतिव्यक्ति २० रुपैयाँ शुल्क लाग्ने गरेको छ । भारतीय नागरिकलाई ८० रुपैयाँ, सार्क राष्ट्रका नागरिकलाई ४ सय रुपैयाँ र अन्य राष्ट्रका नागरिकलाई ७ सय रुपैयाँ शुल्क कोषले तोकेको छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले ई–टिकटको व्यवस्थाले पर्यटकलाई सहज हुनुको साथै कोषको पारदर्शिता बढाउने बताए। उनले यस अघि कोषको टिकट व्यवस्थामा लाग्ने गरेको विभिन्न आरोपहरू पनि अब अन्त्य भएर जाने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्