उदयपुर एमालेको नावैँ अधिवेशन तयारी तीव्र 



उदयपुर । 

आगामी १३ र १४ गते हुने नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नवौँ जिल्ला अधिवेशनको तयारी तीव्र रूपमा भएको छ । आसन्न जिल्ला अधिवेशनको लागि ७५ वटा वडा र २३ वटा जनसंगठनबाट ६ सय ३ जना प्रतिनिधि छनौट सम्पन्न भई सकेको उप सचिव भरत बहादुर थापाले बताउनु भयो ।

‘चैत ६ गते सबै कमिटीबाट प्रतिनिधि छनौट भई सकेको छ’ उपसचिव थापाले भन्नु भयो ‘छनौट भएर आएका प्रतिनिधिहरुको अभिलेख राख्ने कार्य भइरहेको छ ।’  अधिवेशन सम्पन्न गर्नका लागि गाईघाट पिपल चौक स्थित एवान होटलको माथिल्लो तल्लामा सम्पर्क कार्यालय स्थापना गरेर प्रतिनिधि व्यवस्थापन लगाएतका सबै कार्यहरू सुरु गरिएको छ ।

प्रतिनिधि छनौट बाहेक अधिवेशनको लागि गठन भएका विभिन्न उपसमितिले समेत आफ्नो कार्य प्रारम्भ गरेको छ । जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि १३ वटा उपसमिति गठन भएको छ । बुधबार प्रचारप्रसार समितिको बैठक बसेर नवौँ जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि प्रचार प्रसारलाई व्यापक बनाउने निर्णय गरेको छ । प्रचार प्रसार उपसमितिका संयोजक भरत खड्काको अध्यक्षतामा बसेको बैठकले अधिवेशन भर मिडिया डेक्स स्थापना गरेर अधिवेशनको प्रचार प्रसार गर्ने निर्णय गरेको हो ।

प्रचारप्रसार उपसमितिको बैठकले प्रचार उपसमितिमा प्रेस चौतारीमा आबद्ध व्यक्तिहरूलाई थप गर्ने निर्णय गरेको छ । प्रचार प्रसारलाई व्यवस्थित बनाउनको लागि ईश्वर कुमार तामाङ, माधव पोखरेल, अन्जनी अधिकारी, रेणु पराजुली लगायत १५ जना सदस्यहरू थप गर्ने निर्णय गरिएको सयोजक खड्काले जानकारी दिनुभयो ।

जिम्मेवारी बाँडफाँट अन्र्तगत राजनीतिक तथा आर्थिक प्रतिवेदन लेखन उपसमितिमा अध्यक्ष परमेश्वर घिमिरे रहेको चार सदस्य, आर्थिक उपसमितिमा उपसचिव भरतबहादुर थापा, प्रतिनिधि व्यवस्थापन उपसमितिमा उपसचिव टेकबहादुर राउत, प्रचार प्रसार उपसमितिमा भरत खड्कालाई संयोजकको जिम्मेवारी दिइएको छ ।

त्यसै गरी खाद्यान्न तथा आवास महेश रोका, स्वयंसेवक परिचलमा मन्दिप राई, अतिथि सत्कारमा मणिकादेवी दुलाल, हल तथा मंच व्यवस्थापनमा शिव रेग्मी, स्वास्थ्य व्यवस्थापनमा महेश्वरी राईको नेतृत्वमा उपसमिति गठन गरिएको छ ।  त्यस्तै यातायात व्यवस्थापनमा शशिकुमार राईको नेतृत्वमा बिस सदस्य र कालुमान लामा नेतृत्व रहेको ७६ सदस्य जनपरिचालन समिति गठन गरिएको उनले बताए ।  बैठकले नवौँ जिल्ला अधिवेशनको लोगो निर्माण गर्न तुलसी प्रसाद कोईरालाई जिम्मेवारी दिने समेत निर्णय गरेको छ ।  चैत १३ गते उद्घाटन हुने अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको जनाईएको छ ।  जिल्ला भर प्रतिनिधि छनौटको कार्य सम्पन्न भएसँगै नेतृत्वमा दावी गर्ने नेताहरुले सक्रियता बढाएका छन ।

प्रतिक्रिया दिनुहोस्