निजी क्षेत्रसँग सहकार्य गर्न उपमहानगर तयार



हेटौंडा ।

हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले नगरको विकास र समृद्धिका लागि निजी क्षेत्रसंग सहकार्य गर्न तयार रहेको बताएकी छन् । हेटौंडामा आठौं प्रदेशस्तरीय महिला उद्यमी प्रदर्शनी समापनलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले नगरको विकासका लागि नियम, परिधि र कानुनमा रहेर निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएकी हुन् ।

प्रदेशको राजधानी भए पनि विकासका हिसाबले पछि परिरहेको भन्दै नगर प्रमुख लामाले योजना बनाएर सहकार्य गर्न समस्या नभएको बताइन् । उद्यमी मेला समापन गर्दै नगर प्रमुख लामाले साना उद्योग सञ्चालन गर्दै महिलाहरुलाई आयआर्जनमा जोड्नु जरुरी रहेको बताइन् ।

आर्थिक समस्याका कारण हिंसाका घटनाहरु हुने, महिलाहरु परनिर्भर बन्नुपर्ने अवस्था रोक्न दीगो आयआर्जनमा जोडिनु जरुरी रहेको उनको भनाइ थियो । समापनमा ११ वर्षपछि मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी समितिले प्रकाशन गरेको स्मारिका विमोचन गरिएको थियो ।

संघ अध्यक्ष कृष्णकुमार गुप्ताअग्रवालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य कृष्ण कटुवाल, मकवानपुर प्रहरी प्रमुख सीताराम रिजाल, महिला उद्यमी समिति सभापति अंकिता सुमार्गी, मउवा संघ पूर्वअध्यक्ष अरुणराज सुमार्गी, प्रदर्शनकर्ता नुरानी ढुंगेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रदर्शनीमा घरेलु उत्पादनका सामग्रीका ४५ स्टल थिए । लामो समयपछि सञ्चालन भएको प्रदर्शनीमा मकवानपुर, सिन्धुली, चितवन, काठमाडौं, नुवाकोट, इटहरीका उद्यमीहरुले स्टल राखेका थिए । प्रदर्शनी अवधिमा महिला उद्यमीहरुका वस्तु तथा सेवा प्रदर्शनी तथा बिक्री, कृषिउपज प्रदर्शनी तथा बिक्री, स्थानीय कलाकारहरुको दैनिक मनोरञ्जनात्मक प्रस्तुति, महिला उद्यमीहरुका सफलताका कथा प्रस्तुति, महिला उद्यमशीलतालगायत विषयमा प्यानल छलफल, कृषिसम्बन्धि खुला अन्तत्र्रिmया भएका थिए ।

प्रतिक्रिया दिनुहोस्