आगलागीपीडितलाई उपमहानगरको सहयोग



हेटौँडा ।

 पाखामा लागेको डढेलोका कारण घर गुमाएका परिवारलाई भेट्न हेटौँडा उपमहानगर प्रमुख मीनाकुमारी लामा गाउँमै पुगेकी छन् । उपमहानगर क्षेत्रमा रहे पनि भौगोलिक हिसाबले निकै बिकट रहेको हेटौँडा–१८, सुकौरामा नगर प्रमुख राहत सामग्रीसहित पुगेकी छन् ।

शनिबार दिउँसो घरनजिकको पाखो डाँडामा लागेको डढेलो हावाका कारण गोठमा सल्केको र त्यसबाट घरमा सल्कदा सुकौरामा बसोबास गर्दै आएका मदनकुमार तामाङबलको घरगोठ नष्ट भएको थियो । चार सन्तानका बाबु तामाङ एक छोरासहित गोठालो गएको र उनकी पत्नी मेलामा गएको समयमा लागेको आगोले उनको घरगोठसहित खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको थियो ।

घरमा कोही नभएको र गोठमा बस्तुभाउ नभएका कारण ठूलो क्षति हुन नपाएको आइतबार घरमा पुगेकी नगर प्रमुख लामालाई उनले सुनाए । ‘परिवारका कुनै सदस्य घरमा थिएनौं, गाउलेले निभाउने प्रयास गरे पनि सकेनन्,’ उनले भने । जलेको घरनजिक छिमेकीको घरमा सहारा लिएर बसेको उनले पीडा सुनाए ।

पीडितको घरमा पुगेकी  नगर प्रमुख लामाले घर निर्माणका लागि नगर प्रहरीले सहयोग गर्ने बताउँदै हालका लागि दैनिक गुजारा र बसोबासका लागि आवश्यक सामग्री ल्याएको र अन्य सहयोग आवश्यक भए उपमहानगरले सम्बोधन गर्ने बताइन् ।

उपमहानगरबाट सिरक, डस्ना, खाद्यान्न, आवश्यक भा“डाक“ुडा, त्रिपालसहितको सामग्री पीडित तामाङ परिवारलाई हस्तान्तरण गरिएको छ । घर निर्माणका लागि जस्तापाता दिइएको उपमहानगरपालिकाले जनाएको छ । जस्ताको घर निर्माणका लागि उपमहानगरले नगर प्रहरी परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्