अब त अति भो ! इनफ इज इनफ



काठमाडौं ।

सरकारमा गठबन्धन परिवर्तनसँगै धरानका मेयर हर्क साङपाङले टुइट गरे– ‘….रास्वपाको कुनै भिजन छैन, सिर्फ मिसन छ, त्यो हो सरकारमा जाने ।’ एकातिर काम गर्ने फरक शैली र अर्कोतिर विवादास्पद अभिव्यक्तिका कारण बेलाबेलामा चर्चामा आइरहने हर्क साङपाङले चलाउने गरेको भनिएको फेसबुक एकाउन्ट ‘हर्क सासाङपाङ ए रेभुलेसन’ मा पनि उनको सरकारप्रतिको अभिव्यक्ति सकारात्मक देखिएन। उनले भने– ‘…सरकार परिवर्तन तातो न छारो।’

हर्कको अभिव्यक्ति एउटा प्रतिनिधि अभिव्यक्ति मात्र हो। सामाजिक सञ्जाल र मिडियाहरुमा सरकारप्रतिका आमसर्वसाधारणका धारणाहरु त्यति सकारात्मक देखिँदैनन्। गठबन्धनबाट बाहिरिएको कांग्रेसका नेताका अभिव्यक्ति सामान्यतया कांग्रेसलाई सच्चिने मौकाको रुपमा आएका देखिन्छन्। भलै ती सत्ताभिमुख हुँदा मुटुमाथि ढुंगा राखी हाँस्नुपरेका अभिव्यक्ति नै किन नहोऊन् । उता गठबन्धनमा भित्रिएको एमालेलगायतका दलहरुका नेता र समर्थकमा भने विजयको भाव देखिन्छ, भलै ती विजयका भावभित्र पनि यो खुशी पानीको फोकाजस्तो हुने त होइन भन्ने भाव नलुकेका हुन्।

विजयको उन्मादमा कतिपय नेताले त आफ्नो धोती खुस्किएको समेत थाहा पाएनन् । नयाँ पुस्ताले आशा गरेका डा. स्वर्णिम वाग्लेले भने– ‘… गृह त हाम्रो बटम लाइन नै हो, यत्रो मूल्य चुकाएर पुराना पार्टीमा जानु छ, गृह नै पाइएन भने त औचित्य नै हुँदैन ।’ वाग्लेको यो अभिव्यक्ति आफूलाई सत्ताको लोभी हुन भनी देखाउने सत्तालोभीहरुको धोती खुस्किएको उदाहरण हो । उनको यो अभिव्यक्तिले सत्ताका लागि रास्वपा जे पनि गर्छ भन्ने हर्कको भनाइलाई बल नै पुगेको देखिन्छ।

नयाँ गठबन्धन बन्नु दुई दिनअगाडिसम्म कांग्रेस–माओवादी गठबन्धन टुट्दैन, हुँदैन भन्ने शेरबहादुर देउवा अहिले प्रचण्डको कटु आलोचनामा उत्रेका छन् । प्रचण्डका कटु आलोचक ओलीचाहिँ प्रचण्डको बचाउमा उत्रेका छन् । हिजो देउवा गठबन्धनको बचाउमा व्यस्त थिए, ओली फुर्सदिला देखिन्थे । आज ओली व्यस्त भएका छन्, देउवा फुर्सदिला देखिन्छन् । नेपालको राजनीतिमा कहिले कसको त कहिले कसको जीवनमा दिनरातको यो लुकामारी चली नै रहेको छ र चलिरहनेछ।

दलका केही ठूला नेताहरुले सांसदलाई प्रयोगको औजार बनाएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईको सामाजिक सञ्जालमा व्यक्त विचार सापट लिने हो भने गठबन्धन ‘… केही निरीह सांसदको पोको बोकेर एउटासँग गठबन्धन गर्दा संविधान र लोकतन्त्रको रक्षा निम्ति भन्ने अनि केही महिनाभित्र अर्कोसँग घाँटी जोड्दा वामपन्थी र कम्युनिस्ट एकता निम्ति ठूलो उथलपुथल भन्ने र बिचरा सोझा कार्यकर्ताले किंकर्तव्यविमुढ बनेर मन लागी नलागी ताली ठोक्ने यो दृश्य प्रसिद्ध उपन्यास ‘एनिमल फार्म’ को नयाँ संस्करण हो । भट्राईले थपेका छन्– ‘….अलिकति पनि अग्रगामी चेत र राजनीतिक मूल्य मान्यता बाँकी रहेकाहरूले भन्नै पर्छ– ‘…अब अति भो ! इनफ इज इनफ ।’

त्यसो त सत्तामा आफू रहेसम्म सत्ताको बचाउ गर्नु र सत्ताबाहिर निस्केपछि त्यही सत्तालाई गाली गर्नु नौलो कुरा रहेन । कांग्रेस नेता शेखर कोइराला ट्वीटमा भन्छन्– ‘… राजनीतिमा गठबन्धन बन्नु, तोडिनु, फेरि बन्नु सामान्य हो । तर हिजोको घटना सामान्य होइन । कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महँगो साबित भयो । यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौँ ।’

कोइरालाले यसो भनिरहँदा गठबन्धन भत्काउन कोशी प्रदेशको सरकार निर्माण र राष्ट्रिय सभाको निर्वाचनमा दुई–दुईपटक कांग्रेसको गतिविधिले माओवादीलाई घाटा पुर्‍याएको हेक्का राख्नै पर्छ। पहिलो गठनबन्धन नगर्नु नै राम्रो । गरेपछि त पालना त गर्नै पर्ने हो । कोशीमा त्यो पालना भएन। गठबन्धन टुट्नलाई मलजल भयो । कोइरालाको जस्तै कांग्रेसका अरु नेताले पनि गठबन्धन टुटेकोप्रति कांग्रेसले अब सचिने मौकाको रुपमा लिनुपर्नेतर्फ इंगित गरेका छन् । नेपाली कांग्रेसका पुराना नेता लक्ष्मणप्रसाद घिमिरेले गठबन्धन तोडिएको घटनामाथि ‘… आजदेखि प्रचण्डलाई बोकेर प्रचण्डपथमा हिँडिरहेको नेपाली कांग्रेसले मुक्ति पाएको हुँदा अब हिम्मतका साथ कांग्रेस बीपीपथमा हिँडोस् भन्ने धारणा राखेका छन् । युवा नेता प्रदीप पौडेलले भने प्रचण्डले अस्थिरताको नेतृत्व गरेको भनेका छन् । नेता मीनेन्द्र रिजालले प्रचण्डको मायावी बन्धनबाट कांग्रेसले मुक्ति पाएको र समान प्रतिस्पर्धी मैदानमा एमालेसँग सहकार्यको बाटो खुलेको प्रतिक्रिया दिएका छन्।

नेपाली कांग्रेसका नेताका यी केही प्रतिनिधि अभिव्यक्ति हेर्दा कांग्रेसको एक तप्का गठबन्धन टुट्नुबाट त्यति बेखुशी भएको देखिँदैन । भलै लाभको पदमा रहेकाहरुको सपनामा भने तुसारापात भएको हुन सक्छ । वर्ष पनि नपुग्दै मन्त्री पदबाट विमुख हुँदा दुःख लाग्नु मानवीय स्वभावको हिसाबले नौलो कुरा पनि होइन।

नयाँ गठबन्धन बनेसँगै यसका सूत्राधार प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति निकै आक्रामक रह्यो । उनको आक्रोश कांग्रेस–एमाले दुवैप्रति लक्षित हुन सक्छ । उनले गठबन्धन बन्नासाथ भने– ‘….प्रतिक्रियावादीले उपभोग गर्न खोजे लात्ताले हानेर निस्कन्छु ।’ नेपालको राजनीतिमा कस–कसले कसलाई उपभोग ग¥यो ? एमाले र कांग्रेसलाई प्रचण्डले उपभोग गरे कि प्रचण्डलाई एमाले र कांग्रेसले उपभोग गरे भन्ने कुराको बुझाइ आ–आफ्नै हुन सक्छन् । तर सबै दलले कुनै न कुनै रुपमा अर्को दललाई उपभोग गर्न खोज्दा आफूलाई अरुले उपभोग गरेको भने पत्तो पाउनै सकेका छैनन् । जे होस्, उपभोगको वर्तमान राजनीति सत्ताकै मियोमा बेलाबेला उथलपुथल भइरहन्छ । त्यो कुुरा त स्वयम् प्रधानमन्त्रीले नै सहर्ष घोषणा गरेका छन्– ‘… म नमरुन्जेल उथलपुथल भैरहन्छ।’

बामेदव गौतमले नयाँ गठबन्धनलाई समर्थन गर्दै नेकपा विभाजनको महाभूलको स्मरण गराएका छन् । उनको आशय भूल सुधार भयो भन्ने हुन सक्छ । झलनाथ खनाल शृहत् वामपन्थी एकताका लागि एमाले र माओवादीले हृदय ठूलो बनाउनुपर्ने भन्दै नयाँ गठबन्धनप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। तर निकै हतारमा बनेको यो गठबन्धन पक्षधर नेताहरुले जतिसुकै बचाउ गरे पनि गठबन्धनको धरातल निकै कमजोर छ । नेकपा एमालेका लागि यो गठबन्धन भत्काउन सक्नु नै ठूलो उपलब्धि हो भने भिन्नै कुरा हो । अन्यथा झीनो बहुमत त्यसमा पनि साना दलहरुसँग भर पर्नुपर्ने अवस्थाले अस्थिरतालाई निम्त्याइरहेको छ । निवर्तमान मन्त्री शरदसिंह भण्डारीको प्रतिक्रियाले त्यसतर्फ संकेत गरेको छ– ‘…. यो गठबन्धनको पनि भर छैन ।’

हुन पनि हो, सरकार आलोपालो हो कि बाँकी चार वर्ष प्रचण्डको एकलौटी हो ? यसमा पनि गठबन्धन सहमतिपत्रमा स्पष्ट छैन । अहिले नै पनि गठबन्धन दलका नेताहरुको अभिव्यक्तिमा विरोधाभाष देखिन्छ । माओवादी नेता वर्षमान पुनले ‘प्रचण्ड वा ओलीलाई आलोपालो लगाएर छुट दिने अवस्था छैन’ भन्दै चार वर्ष नै प्रचण्ड सरकार रहनुपर्ने आशय व्यक्त गरिसकेका छन् । तर एमाले महासचिव शंकर पोखरेल भन्छन् ‘…प्रधानमन्त्रीमा आलोपालो सहमति भएको छ ।’ यसले फेरि पनि आलोपालोमा समस्या आउने सम्भावना छ। गठबन्धन परिवर्तनसँगै आठबुँदे सहमति भयो । आठ बुँदामा सरकारको नृतृत्व प्रचण्डले गर्ने भनिए पनि कति अवधि भनी तोकिएन । यो आलोपालो नै समस्या बनेर नबल्झेला भन्ने छैन।

सत्ता कति निर्लज्ज हुन्छ भन्ने कुरा प्रचण्डसँगै लागेर केपी ओली माधव नेपालको घर पुगेको दृश्यलाई लिन सकिन्छ । कुनै दिन माधव नेपालको नाम लिँदा पनि मुख कुल्ला गर्नुपर्छ भन्ने ओली आज गठबन्धनलाई समर्थन जुटाउनका लागि तिनै माधव नेपालका घरमा पुगेका छन् । ओलीको माधव नेपाललाई सरकारमा सहभागी गराउने र देउवालाई रोक्ने दौडधुपको रोचकता देख्दा नैतिकता कति लजाउँदो होला ?

नैतिकता मात्र किन, यता एकजना प्रधानमन्त्रीको निर्णयले सारा प्रदेश सरकार परिवर्तन हुने स्थितिले संघीयताले पनि हावा खाएको भन्न मिल्दैन र ? भनियो संघीयता, तर व्यवहारमा केन्द्रीयता । केन्द्रमा सरकार परिवर्तनसँगै प्रदेश सरकारहरु ढल्ने र नयाँ बन्ने भएपछि ती सरकार प्रदेश सरकार भएनन्। संघीय सरकारकै अंग रहेछन् । तीन तहका सरकार आफैँमा स्वतन्त्र छन् भने पनि दलहरु संघ र प्रदेश सरकारको प्याकेजमै सहमतिको अभ्यास विगतदेखि नै गर्दै आएका छन् ।

माओवादी नेता वर्षमान पुनले राजनीतिक स्थिरताको लागि नयाँ गठबन्धन भने पनि यसलाई झनै अस्थिरतालाई निम्तो दिएको छ । पूर्वप्रधानमन्धी डा. बाबुराम भट्टराईले भने झैँ ….पटक–पटक मञ्चन हुने यस्ता फोहोरी खेलले भर्खर जरा गाड्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई झन् कमजोर पार्ने, जनता र नयाँ युवापुस्तामा वितृष्णा बढाउनेछ।

आज गठबन्धनमा देखिएको उतारचढाव दलहरुको लागि ठूलो उत्सव होला, तर जनताका लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मात् ! जनताको लागि निराशासिवाय केही छैन । जनतालाई निराशा कति बाँड्ने ? अब त अति भो ! इनफ इज इनफ ।

प्रतिक्रिया दिनुहोस्