उपमेयर काफ्लेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, हरिपुर नगरपालिकाका उपमेयर रेणुकादेवी काफ्ले, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नइन्द्रकुमार पौडेलसहित १० जनाविरुद्ध आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

अख्तियारले हरिपुर नगरपालिकास्थित लखनदेही खोला तटबन्ध बनाउन ८५ लाखभन्दा बढी रुपियाँ अनियमितता भएको भन्दै १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा हालेको हो।

इन्जिनियर रञ्जित साह र सब–इन्जिनियर सञ्जीव चौधरी, अनुगमन समितिका सदस्य वेदकुमारी बलम्पाकी, सदस्य लक्ष्मी कुवँर, वडा नं.१ का तत्कालीन वडाअध्यक्ष कुमार लामा, नदी नियन्त्रण उपभोक्ता समिति, हरिपुर–१ नाखाटोल उपभोक्ता समितिका अध्यक्ष शम्शेरबहादुर बस्नेत, सचिव इन्द्रबहादुर घिसिङ र कोषाध्यक्ष निर्मालाकुमारी देवीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

तटबन्ध निर्माणको कार्य नै नगरी आर्थिक अनियमितता गरेको आयोगले जनाएको छ । खोला नियन्त्रण तथा स्पर निर्माणमा लागत अनुमानभन्दा कम गरी ३ हजार ४ सय ९५ दशमलव १२ वर्ग मिटरको परिमाणमा सो बक्स निर्माण गरेको, लागत अनुमान ८ हजार ४ सय घन मिटरको माटो पुर्ने काम तोकिएकोमा लागत अनुमानभन्दा बढी गरी १४ हजार ७० घनमिटरको परिमाणमा काम गरिएको थियो।

मनासिब कारणबिना सो निर्माण कार्यको आकार र रूप परिवर्तन गरेको, ढुड्डा (ग्याविन जाली) को कामको परिमाण कम गरी माटो पुर्ने कामको परिमाण बढाउँदा तटबन्ध कमसल हुन पुगेको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताउनुभयो।

निर्धारित शर्त तथा मापदण्डविपरीत निर्माण कार्य गरेको/गराएको र त्यस्तो निर्माण कार्यलाई गुणस्तरयुक्त, शर्त तथा मापदण्डबमोजिम भएको हो भनी प्राविधिक मूल्याङ्कनसहितको नापी किताब, कार्य सम्पन्न प्रतिवेदनसमेत प्रमाणित एवं स्वीकृत गरी उपभोक्ता समितिलाई ८५ लाख १८ हजार ६ सय ३१ भुक्तानी दिई सरकारी सम्पति हानि नोक्सानी पुर्‍याएको आयोगले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना समेतको सजाय हुन मागदाबी लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्