गगन थापाको प्रश्न- सहकारी ठगीमा मुछिएकै व्यक्तिले अनुसन्धान गर्छ भनेर कसरी पत्याउने?



काठमाडौं ।

नेपाली कांग्रेसले गृहमन्त्री रवि लाछिमाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले छानबिन गर्न सक्छ भन्दै प्रश्न गरेको छ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले सुन तस्करी प्रकरणमा प्रहरीले ठुला मान्छे जोगाउने गरी अनुसन्धान भएको तथ्य आयोगको प्रतिवेदनबाट खुलेको प्रसङ्ग उल्लेख गर्दै गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले कसरी छानबिन गर्न सक्छ भन्दै प्रश्न गरेका हुन्।

सहकारी ठगी प्रकरणदेखि सुन काण्ड, भुटानी शरणार्थी काण्डसहित सबै काण्डका दोषीलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ। उनले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरे।

जीबी राईसँग मिलेर पोखराको सूर्यदर्शनसहित अरू सहकारीबाट लामिछानेले पनि बचतकर्ताको रकम हिनामिना गरेको आरोपबारे स्पष्ट पार्नुपर्ने उनले माग गरे।

‘जीबी राई लगायतको ग्रुप जुन छ, जसमा दीपेश पुन अहिले पक्राउ परेर बुटवल लिएर गइएको छ। यो समूहले अर्बौँ रुपैयाँ अपचलन गरेको छ र त्यसमध्येको सबैभन्दा धेरै ठुलो पैसा गोर्खा मिडिया, यही ग्यालेक्सी टेलिभिजनमा गएको छ। मैले थाहा पाएसम्म अरू थुप्रै शक्तिशाली नेताहरूको पनि नाम आउँछ यदि राम्रोसँग अनुसन्धान गरियो भने । तर, ‘सहकारी ठगी प्रकरणमा गृहमन्त्री आफैं मुछिनुभएको छ। यसको अनुसन्धान कसरी हुन्छ? यसको विश्वास हामीले कसरी गर्ने हो?’ उनले बैठकमा भने ।

प्रतिक्रिया दिनुहोस्