भक्तराजको अन्तिम बिदाइ



काठमाडौं ।

नेपाली संगीत क्षेत्रलाई कयौं कालजयी गीत छोडेर गाएका ख्यातिप्राप्त गायक तथा भजन शिरोमणि भक्तराज आचार्यलाई मंगलबार अन्तिम बिदाइ गरिएको छ।

उनका गायक छोराद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यले उनको पार्थिव शरीरमा पशुपति आर्यघाटमा दागबत्ती दिएका थिए। अक्सिजनस्तर कम भई उपचारका लागि सोमबार दिउँसो ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पताल लैजाने क्रममा ८२ वर्षको उमेरमा उनको निधन भएको थियो।

उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो। त्यसअघि आचार्यप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न बिहान सानोगौचरणस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा उनको पार्थिव शरीर राखिएको थियो।

जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेता, संगीतकर्मी, कलाकर्मी तथा संगीतप्रेमीहरूले आचार्यप्रति अन्तिम श्रञ्द्धाञ्जली व्यक्त गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए। आचार्यको पार्थिव शरीरलाई अगाडि राखेर उनका दुई गायक छोरा सत्यराज आचार्य र स्वरुपराज आचार्यसहित संगीतकर्मीहरूले उनका कालजयी दुई गीत जहाँ छन् बुद्धका आँखा र हजार सपनाहरूको माया लागेर आउँछ बोलको गीत गाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए।

१९९९ साल असोज १६ गते धनकुटामा जन्मिएका उनले काखे बाल्य उमेरमै पितालाई गुमाएका थिए। गायनका साथमा संगीत र शब्द सिर्जनामा एकसाथ अघि बढेका भक्तराज २०४६ सालमा एक साँझ बौद्धमा सांघातिक हमलामा परेका थिए।

सो हमलामा परी जिब्रोमा लागेको चोट विस्तारै क्यान्सरमा परिणत भएपछि उनले सधैंका लागि जिब्रो गुमाउनुप¥यो। त्यसपछि उनको सांगीतिक जीवन गुमनाम रहन पुगेको थियो।

त्यस घटनापछि गायन क्षेत्रमा रोकिएका भक्तराजलाई संगीत जगत्मा पुर्‍याएको योगदानका लागि विभिन्न मान सम्मान, पदक र पुरस्कारबाट सम्मानित गरिएको थियो।

गोरखा दक्षिण बाहु, छिन्नलता पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कारजस्ता पदक, सम्मान र पुरस्कारबाट सम्मानित उनलाई विन्ध्यवासिनी म्युजिक लाइफ टाइम अचिभमेन्ट अवार्ड २०६७, संगीतकर्मी सम्मान २०७०, इमेज लाइफ टाइम अवार्डलगायत दर्जनौं अवार्डबाट सम्मानति गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्