कक्षा १२ को परीक्षा वैशाख १४ गते



काठमाडौं

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख १४ गते र काठमाडौं महानगरपालिकाले कक्षा ८ को आधारभूत तहको परीक्षा चैत २ गतेबाट लिने निर्णय गरेको छ।

कक्षा १२ को परीक्षाका बारेमा रापबोर्डले हिजो शनिबार सूचना जारी गरी परीक्षा २६ गतेसम्म सञ्चालन गर्ने जनाएको छ।

परीक्षा तालिका सार्वजनिक गर्दै साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुराना पाठ्यक्रम अनुसारका नियमित एवं ग्रेडवृद्धि परीक्षार्थीहरूको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको हो।

बोर्डद्वारा जारी सूचनाअनुसार विद्यार्थीको एकभन्दा बढी विषयको परीक्षा एकै दिन परेको खण्डमा सूचना प्रकाशन भएको १५ दिनभित्र बोर्डका प्रदेश/शाखा कार्यालय वा परीक्षा नियन्त्रण कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ। तालिकाअनुसार शुरूमा अनिवार्य विषय समावेश गरिएको छ।

त्यस्तै, कामपा शिक्षा विभागले कक्षा ८ को परीक्षा ९ गतेसम्ममा सक्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो। पूर्वसूचनाबिना आकस्मिक बिदा परे पनि परीक्षा नरोकिने कामपा शिक्षा विभागले जारी गरेको सूचनामा उल्लेख छ।

फागुन २० गतेदेखि विद्यालयले प्रिन्ट गरेर प्रवेशपत्र दिन सक्ने व्यवस्था गरेको छ। परीक्षाका लागि प्रश्नपत्र चैत १ गते सम्बन्धित विद्यालयको स्रोत केन्द्रबाट वितरण गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्