मनहरीमा गुञ्जियो धोकेबाज हौ तिमी

434
Shares

हेटौंडा ।

पाँचौं मनहरी महोत्सवको उत्तरार्द्धतिर मनहरी आइपुगेकी चर्चित गायिका एलिना चौहानले दर्शकसामु फर्केर धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी भनेकी छन्।

उनको पहिलो प्रस्तुतिमै रहेको गीतमा दर्शकले उनलाई प्रश्न गरेनन्। बरू, स्वर मिलाउँदै साथ दिए। चौहानको गीत सुन्नका लागि शुक्रबार दिउँसैदेखि महोत्सवस्थलमा चहलपहल बढेको थियो।

खासगरी, टिनएजरमा बढी चर्चित गायिका चौहानलाई सुन्न, हेर्न र फोटो खिच्न विद्यार्थी विद्यालय सक्नासाथ महोत्सवस्थलमा पुगेका थिए।

चौहानले धोकेबाज हौ तिमीसँगै मिनरल वाटर, खान्छौ क्वाटर, कट्टा हान्दिन्छु लगायतका हिट गीत पस्किइन्। उनले पुराना सर्जकले गाएका गीत पनि प्रस्तुत गरिन्।

त्यसअघि मकवानपुरे चेली चर्चित लोकदोहोरी गायिका चन्दा अर्यालले प्रस्तुति दिएकी थिइन्। उनले खान्न म त पिँडालु कोक्यायो, मै सोझोलाई मायाले झुक्यायो, स्याउ ल्याइदिऊँ कि केराजस्ता लोकप्रिय गीत गाएकी थिइन्।

कार्यक्रममा कमेडियन दिनेश काफ्लेको कमेडी सुनेर दर्शक पेट मिचीमिची हाँसेका थिए। चौहान, अर्याल, काफ्लेसहित शितल कल्पना, रश्मिता सेञ्चुरी, ऋतु कँडेलसहित आस्था कला केन्द्रका कलाकारले पनि आफ्ना कला प्रस्तुत गरेका थिए।

शनिबार सोनाम ल्होछारको दिन कलाकार मार्मिक लामा, सञ्जीवसीं वाइबा, अञ्जु थोकर, लक्ष्मी लामा, रविनकुमार चेपाङ, बालिका तामाङ, गोबिन्द बर्ताैलालगायतको प्रस्तुत रह्यो।

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान मकवानपुरले आयोजना गरेको लाइभ दोहोरी गीत प्रतियोगितामा दोहोरी प्रतिष्ठान चितवन विजय भएको छ। उसले नगद २० हजार रुपियाँ र प्रमाणपत्र प्राप्त गरेको छ।

उपविजेता दीपेन्द्र पुनको समूह भएको छ भने तृतीय स्थानमा विनोद अर्यालको समूह पुगेको छ। उत्कृष्ट गायकमा विशाल सुनार घोषित भएका छन् भने उत्कृष्ट गायिका भावना शाही घोषित भएकी छन् ।