'न्युरोड क्षेत्रमा एकलौटी ढंगले पार्किङ हटाउनु आपत्तिजनक'

सशुल्क होइन, निःशुल्क, व्यवस्थित र सीमित पार्किङ हुनुपर्छ : वडाअध्यक्ष महर्जन



काठमाडौं ।

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले एकलौटी ढंगले पार्किङ हटाएको भन्दै कामपा वडा नं. २२ का वडा अध्यक्ष चिनीकाजी महर्जनले आपत्ति जनाउनुभएको छ।

नयाँ सडक क्षेत्रमा पार्किङ निषेध गरेको विषयमा बिहीबार पत्रकार सम्मेलन आयोजना गरी वडा अध्यक्ष महर्जनले भन्नुभयो– ‘धार्मिक, सांस्कृतिक, आर्थिक, राजनीतिक तथा ऐतिहासिक दृष्टिकोणबाट राष्ट्रिय रूपमा अत्यन्तै महत्वपूर्ण स्थानको समग्र जीवनको संवेदनशीलता र सन्तुलनलाई पूरै बेवास्ता गरी सो क्षेत्रको विभिन्न आयामहरूमा नकारात्मक असर पर्नेगरी गरिएको निर्णय आपत्तिजनक रहेको छ।’

स्थानीय वडा प्रतिनिधिहरूलाई जानकारी नै नदिई मेयर साहले एकलौटी रूपमा गरेको निर्णय कुनै पनि हालतमा मान्य नहुने जिकिर गर्दै वडाअध्यक्ष महर्जनले पार्किङ हटाउने निर्णय गर्दा मेयर साहले बोर्डमा छलफलसमेत नगरेको बताउनुभयो।

मेयर साहले गरेका निर्णयको समर्थन गर्दागर्दै आज बाध्यतावस आफ्नै संस्थाको विरुद्धमा यस प्रकारको कार्यक्रम गर्नु आफैंलाई नराम्रो लागेको बताउँदै उहाँले भन्नुभयो– ‘उहाँले न्युरोडको इतिहास बिर्सनुभयो। यहाँका करिब १२ हजार व्यापारिक फर्मको अपहेलना गर्नुभयो। त्यसैले उहाँको शैलीका विरुद्धमा हामी यस वडाका सबै राजनीतिक दल, १३ स्थानीय संघ संस्थाहरू र ८ वटा व्यापार व्यावसाय गर्ने संस्था आन्दोलनमा उत्रिएका हौं ।’

यस क्षेत्रमा सशुल्क पार्किङ गर्न दिन नहुने तर व्यापार व्यावसायलाई चलायमान गराउन, व्यवस्थित र उपयुक्त स्थानमा मात्र पार्किङ गर्न पाउनुपर्ने उहाँको भनाइ थियो।

पत्रकार सम्मेलनमा करिब तीन दर्जन संघसंस्था, राजनीतिक दल र व्यवसाय गर्ने संस्थाको उपस्थिति रहेको थियो।

टेवहालस्थित २२ नम्बर वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वडाअध्यक्ष महर्जनले आफूले उठान गरेका विषयलाई भित्री सहरका वडाअध्यक्षहरूले समेत समर्थन गरेको दाबी गर्दै भन्नुभयो– ‘भित्री सहरका सबै वडा अध्यक्षले हाम्रो वेदना बुझ्नुभएको छ, सँगसँगै भद्र अवज्ञामा सहभागी हुन्छु पनि भन्नुभएको छ।’

न्युरोड क्षेत्रमा वडा नं. २२ का साथै १९, २०, २७, २८, २५ र २७ लगायतका वडा पर्दछन्।  यो विषयमा आफूले कार्यपालिकाको बैठकमा आवाज उठाउने जानकारी दिँदै वडाअध्यक्ष महर्जनले व्यवस्थित र निःशुल्क पार्किङ व्यवस्थापन गर्न वडा कार्यालयलाई जिम्मेवारी दिनुपर्ने, धर्मपथमा रहेको कामपाको पुरानो कार्यालयमा निर्माणाधीन सांस्कृतिक भवनमा आवश्यक लिफ्ट जडान गरी पार्किङ भवनको रूपमा रूपान्तरण गर्नुपर्ने, कामपाद्वारा विभिन्न स्थानमा आधुनिक पार्किङ पूर्वाधार निर्माण गर्दै जाने र यस्ता पूर्वाधार तयार हुँदै जाँदा सोहीअनुसार क्रमशः सार्वजनिक स्थानको पार्किङ हटाउँदै लैजानेलगायतका माग अघि सार्नुभएको छ।

वडाअध्यक्ष महर्जनले धरहरामा जबरजस्ती पार्किङ गरेकोमा पनि आपत्ति जनाउनुभयो।

निर्माणको क्रममा रहेको धरहरामा पार्किङ गर्दा सम्बन्धित मन्त्रालयसँग छलफल र सहमति गर्नुपर्ने अवस्थामा एकलौटी ढंगले पार्किङ गराउनु भएको टिप्पणी गर्दै वडा अध्यक्ष चिनीकाजी महर्जनले भन्नुभयो – ‘धरहराको पार्किङ क्षेत्रमा दशैँ, तिहार र छठलगायतका चाडपर्वमा मन्त्रालयको सहमतिमा हामीले ३ महिना पार्किङ गर्‍यौं, अहिले कामपाले मनपरी ढंगले पार्किङ गरिरहेकोमा सरकारबाटै विरोध हुनु नराम्रो विषय हो ।’

प्रतिक्रिया दिनुहोस्