महानगरका झिलिमिली सडक

१ हजार २६ स्मार्ट सडक बत्ती जडान



काठमाडौं ।

काठमाडौं महानगरपालिकाले गौरवको योजनाअन्तर्गत पहिलो चरणमा १ हजार २६ वटा स्मार्ट सडक बत्ती जडान गरेको छ।

कामपा र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा ‘उज्यालो सहर, मेरो महानगर’ कार्यक्रमअन्र्तगत स्मार्ट सडक बत्ती जडान गरिएको हो ।

कामपाले जमल, लैनचौर र महाराजगञ्ज सडक खण्डमा ३ सय १८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र, बालुवाटार, नक्साल हुँदै माइतीघर मण्डलासम्म ३ सय ६३, कमलपोखरीदेखि गौशालासम्म १ सय ८१, त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघर मण्डलासम्म ७६ र चावहिलदेखि बौद्ध सडक खण्डमा ९९ वटा बत्ती जडान कार्य सकेको छ।

यी खण्डको प्रारम्भिक अध्ययनमा क्रमशः ३ सय ४०, ३ सय ७४, १ सय ९०, ७६ र ९२ वटा बत्ती जडान गर्नुपर्ने देखिएता पनि स्थलगत आवश्यकताका आधारमा केही संख्या कम भएको महानगरपालिकाका इलेक्ट्रिकल इन्जिनियर पदमराज पौडेलले बताउनुभयो।

पौडेलका अनुसार फराकिलो सडकमा १ सय २० वाट र साँघुरो सडकमा ९० वाटका बत्ती जडान भएका छन्। कामपाका प्रवक्ता नवीन मानन्धरले उज्यालो कार्यक्रमअन्तर्गत महानगरका सबै सडकमा स्मार्ट बत्ती जडान भइरहेको जानकारी दिँदै चालु आर्थिक वर्षमा करिब ३० करोड रुपियाँ बराबरको स्मार्ट बत्ती जडान गरिने बताए।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘उज्यालो शहर मेरो महानगर’ योजनाअन्तर्गत सडक गल्लीमा स्मार्ट स्ट्रिट लाइट र सय स्थानमा हाइमास्ट लाइट जडान गर्ने योजना छ । तीन वर्षमा सबै सडक र गल्लीमा सडक बत्ती जडान हुनेगरी कार्यक्रम तय भएको छ।’

कामपाले केही बत्ती पुरानै पोलमा पनि जडान गरेको छ। दुई निकायबीच सबै सडकमा नयाँ पोल जडान गर्ने समझदारी भएको भए पनि पोल फेर्न समस्या देखिएको स्थानमा पुरानै पोलमा केही बत्ती राखिएको हो।

ती पोलमा राखिएका बत्तीले प्रकाश नपुग्ने ठाउँमा नयाँ पोल थपिएका छन्। यसका लागि १ सय ७७ नयाँ पोल प्रयोग भएको छ। बिजुली जडान गर्न ३० हजार ७ सय १० मिटर तारको प्रयोग भएको छ।

महानगरपालिका, विद्युत् प्राधिकरण र निजी क्षेत्रले गाडेका पोलमा स्मार्ट बत्ति जडान गर्न वा उक्त पोललाई पुनः प्रयोगमा ल्याउन नसकिएपछि ४ सय २१ वटा सोलार प्यानल हटाइएको छ।

रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक सडक बत्ती जडान गरिएको हो।

स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर तथा यसले सौन्दर्यलाई एकरूपता काम गर्न साझेदारसँग सहकार्यका लागि २०७९ माघ २४ गते नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सम्झौता भएको थियो ।

बत्ती जडान गरिसकेपछि सबै बत्तीहरूलाई एउटै प्रणालीमा आवद्ध गरिने छ। यसपछि एउटै स्क्रिनबाट बत्तीलाई आवश्यकताका आधारमा चहकिलो र मधुरो बनाउने, निभाउने वा बाल्ने गरी स्वचालित प्रणाली जडान गरिएको छ।

पहिलो चरणमा झण्डै १२ करोड रुपियाँ लागत अनुमानमा बत्ती जडान भएको हो। सम्झौताअनुसार लागतको ६० प्रतिशत रकम काठमाडौं महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत् प्राधिकरणले व्यहोर्ने छ।

प्रवक्ता मानन्धरका अनुसार बत्ती बाल्नदेखि महसुल तिर्नसम्मको सबै रकम ६० प्रतिशत कामपा र ४० प्रतिशत विद्युत् प्राधिकरणले बेहोर्ने छ।

बत्ती जडान गर्न प्राधिकरणले बोलपत्र आह्वान गरेको थियो । विद्युत् प्राधिकरण र निर्माण कम्पनीबीच २०८० वैशाख २५ गते सम्झौता भएको थियो । सम्झौताबमोजिम २०८१ वैशाख २४ गतेभित्र स्मार्ट बत्ती जडानको सबै काम सम्पन्न गर्नुपर्नेछ।

महानगरपालिकाको लगानीमा लैनचौरदेखि महाराजगञ्जसम्म, माइतीघर मण्डलादेखि बागबजारसम्म, बागबजारदेखि शितल निवाससम्म, सिनामंगल अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशाला हुँदै कमलपोखरीसम्म, चावहिलदेखि जोरपाटीसम्मको रुट राखिएको छ।

यसै गरी विद्युत् प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान हुनेछन् ।

विद्युत् प्राधिकरणका उपप्रबन्धक प्रमोद रिजालले बत्ती जडान गर्ने काम गर्ने सडक खण्डमा यस अघि सौर्यबत्तीका लागि गाडिएका पोलहरूको पुनः प्रयोग योजना स्वीकृति हुने चरणमा रहेको बताउनुभयो । उहाँले योजना स्वीकृत भएपछि काम थालिने जानकारी पनि दिनुभयो।

विद्युत् प्राधिकण र कामपाबीच भएको प्ररम्भिक अध्ययनअनुसार १ हजार १७ वटा सडक बत्ती जडान गर्नुपर्ने र त्यसका लागि ९२ वटा नयाँ पोल राख्नुपर्नेछ भने २१ हजार ९ सय ७० मिटर तार आवश्यक पर्ने अनुमान छ।

प्राधिकरणले बत्ती जडान गरिसकेपछि सञ्चालन व्यवस्थापनका लागि महानगरपालिकालाई हस्तान्तरण गर्नेछ। यसपछिको मर्मत सम्भार महानगरपालिकाले गर्नेछ।

प्रतिक्रिया दिनुहोस्