सामाजिक न्यायसहितको समाजवाद स्थापना गर्न कम्युनिष्ट पार्टीको स्थापना : सचिव अर्याल



बुटवल  । 

नेकपा (एमाले) केन्द्रीय सचिव तथा लुम्विनी प्रदेश इन्चार्ज पद्यमा अर्यालले नेपालका राजनीतिक पार्टीहरुको तुलनात्मक अध्ययनमा प्रशिक्षण दिदै नेकपाको जन्म सुगौली सन्धिदेखि दमित राष्ट्रिय स्वाभिमानलाई माथि उठाउदै राष्ट्रिय स्वाधिनताका लागि, सामन्तवादलाई जरैदेखि उन्मुलन गरेर जनवादी व्यवस्था स्थापना गर्नका लागि र सामाजिक न्याय, समानता र समृद्घिसहितको समाजवाद स्थापना सहित तीनवटा अभिभारा पूरा गर्नका लागि भएको बताएका छन् ।

नेकपा(एमाले) रुपन्देहीद्घारा सञ्चालित प्रशिक्षण कार्यक्रमको दोस्राे दिन प्रशिक्षणमूलक मन्तब्य ब्यक्त गर्दै अर्यालले दक्षिणपन्थी, वामपन्थी र पश्चगामी गरी ३ खालका पार्टीहरु रहेको प्रसंग उल्लेख गर्दै सवै पार्टीहरुको वर्ग चरित्र, नेकपा (एमाले) र उनीहरुकावीच रहेको भिन्नता तथा पार्टीले समाजवादी कार्यक्रम कसरी सञ्चालन गर्छ भन्नेवारेमा विभिन्न सन्दर्भ सहित ब्याख्या गरेका छन्।

सरकारमा रहँदा गरिएका समाजवादउन्मुख कार्यक्रमको चिरफार गर्दै उनले विदेशी शक्तिका कारण पार्टीलाई सत्ताबाट हटाइएको विषयमा विस्तृत व्याख्यान दिए । पार्टीका पोलिटब्युरो सदस्य तथा रुपन्देही इन्चार्ज दलवहादुर रानाले सवैको समान क्षमता नहुने भएकोले रुचि, इच्छा र क्षमता अनुसार विषयमा दक्षता प्राप्त गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे । प्रशिक्षण पश्चात् पार्टी विस्तार र सुदृढीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै गत चुनावमा गिरेको शाख फर्काउन सक्ने क्षमता विकास हुन सकोस् भनी शुभकामना ब्यक्त गरे ।

अबका दिनमा गाउँ कमिटी र वडा कमिटीलाई सतर्कतासहित आर्थिक विषयमा बलियो वनाउने गरी नीति वनाउन आग्रह गर्दै रानाले मौलिक तरिकाले समाजवादमा कसरी पुग्न सकिन्छ भनेर पाठ्यक्रममा समावेश हुनुपर्ने धारणा ब्यक्त गरे । पार्टीलाई पूर्णकालिन कार्यकर्ता चाहिन्छ भने तिनको व्यवस्थापन कसरी हुन्छ ? चाहिदैन भने पेशा व्यवसाय गरेर बँचेको समयमा पार्टी नेतृत्व गर्नेले समाजवादमा पुग्न सकिन्छ कि सकिदैन भन्ने प्रश्न गर्दै यसको जवाफ आफै खोज्न र तदनुसारको कदम चाल्न निर्देशन दिए ।

यस अघि पार्टी केन्द्रीय सदस्य तथा लुम्विनी प्रदेशका स्कुल विभाग संयोजक लक्ष्मण ज्ञवालीले पार्टी संगठन ब्यवस्थापनवारे प्रशिक्षण दिनुभयो । उनले जनसंगठन र पार्टीवीचको भिन्नता, लेनिनवादी संगठनात्मक शैली, संगठनात्मक ब्यवस्थापनका तीन पक्ष, मानव जीवन र संगठनका बीचमा रहेको भिन्नता, परिवर्तित अवस्थामा वर्ग संघर्षको स्वरुप, जनआधारित पार्टी नेकपा एमालेका विशेषता लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

त्यस्तै केन्द्रीय स्कुल बिभाग सचिव घनश्याम कोइरालाले प्रशिक्षण व्यवस्थापन, प्रस्तुति सिप, शैली र कला विषयमा प्रशिक्षण दिएका थिए ।  त्यस अवसरमा कोइरालाले कार्यकर्ता, नागरिक र नेताकावीचमा हुनुपर्ने सम्वन्धकावारेमा प्रकाश पार्दै विषयगत ज्ञान कसरी प्रस्तुत गर्दा मानिसले ग्रहण गर्न सक्छन् भन्नेवारेमा छलफल चलाए । दोश्रो दिन रुपन्देही पार्टी अध्यक्ष तेजेन्द्र केसीले जिल्लाको इतिहास लेखन भइरहेकोले आवश्यक सुझाव दिन आग्रह गर्नुभयो भने जिल्ला स्कुल विभाग प्रमुख युवराज घिमिरेले कसरी र किन स्कुल आवश्यक छ भन्नेवारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्