प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं ।

नेपाली सेनामा साधारण सेवातर्फमा रिक्त रहेको सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार रसुबेदारहरूलाई प्रधान सेनापति प्रभुराम शर्माले आज मंगलबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमा पदपूर्ति गर्दा ७० प्रतिशत खुल्ला, २० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत बढुवाद्वारा गर्नुपर्ने व्यवस्था अनुरूप बढुवा भएका प्रमुख सुबेदार र सुबेदार ३२ जना मध्ये विभिन्‍न संयुक्त राष्ट्रसंघीय मिसन (शान्ति सेना)मा खटिएका ९ जना बाहेक २३ जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

उक्त अवसरमा प्रधान सेनापतिसँगै बलाधिकृत रथी अशोकराज सिग्देलले पनि पदोन्नति भएका पदिकहरुलाई सहायक सेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । समारोहमा रथीवृन्द, अधिकृतहरूका साथै बढुवा भएका अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो ।

लामो समय सेनामा रहेर योगदान पुर्‍याएका एवं अनुभवी पदिकहरुको अधिकृत दर्जामा बढुवाको व्यवस्थाले आन्तरिक वृत्ति विकासमा राम्रो अवसर सृजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्