प्रश्नहरूको सामना गर्न तयार छु, आरोप र लाञ्छनाप्रति आक्रोशित छैन : सभापति लामिछाने



भक्तपुर ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना बारेमा उठाइएका विभिन्न प्रश्नहरूको सामना गर्न आफू तयार रहेको बताएका छन् । रफत सञ्चार क्लबको १४औँ वार्षिकोत्सवका अवसरमा आज भक्तपुरमा आयोजित कार्यक्रममा उनले आफूप्रतिको आरोप र लाञ्छनाप्रति आक्रोशित नभएको बताए ।

“मेरो सार्वजनिक जीवनका सन्दर्भमा बजारमा उठेका प्रश्न, लाञ्छनाको जवाफदिन तयार छौं उनले भने-“ कहिले–कहिले पानी धेरै भयो भने डुबाउने रहेछ भने कहिले पानीले पखाल्ने पनि गर्दो रहेछ । त्यसकारण मेराबारेमा उठ्ने गरेका र उठाइएका प्रश्नबाट म आत्तिएको पनि छैन र तर्सिएको पनि छैन । ”

राजनीति र पत्रकारिताको सेवा एकैपटक सम्भव नहुने बताउँदै पत्रकारितालाई राजनीतिबाट पर राख्नुपर्नेमा उनले जोड दिए ।उनले भने,“कहीँ कतै पत्रकारहरूका कलम, माइक्रोफोन र क्यामेरा गलत सूचना र अमूक दलका नेताहरूलाई बचाउन चढाएका त छैनौं यदि पत्रकारिताका उपकरणहरू नेताहरूलाई चढायौं भने त्यो लोकतन्त्रका लागि घातक सिद्ध हुनेछ ।”

आफूले पत्रकारिता गर्दा जनताको पक्षमा वकालत गरेकाले आम जनताले न्यानो माया प्रदान गरेको उनको भनाई थियो ।

सभापति लामिछानेले आफू पत्रकार हुँदा नेतालाई आलोचना गर्ने र आफू नेता हुँदा पत्रकारलाई आलोचना गर्ने काम कहिल्यै नगरेको स्पष्ट पारे । लामिछानेले पत्रकारले सहीलाई सही भन्ने र गलतलाई गलत भन्ने हिम्मत राख्नुपर्ने सल्लाह दिए ।
आफूहरूको ध्यान लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रित रहेको उनले बताए ।जुनसुकै परिस्थिति आए पनि मुलुकको लोकतन्त्रको हरण नहोस् भनेर आफ्नो पार्टी सचेत रहेको बताए ।

पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले रास्वपा सत्य, निष्ठाको ताकतमा लोकतन्त्रको पक्षमा रहेको र कुनैपनि मूल्यमा लोकतन्त्र नमासियोस्, नखोसियोस् भन्ने मान्यतामा रास्वपाले विश्वास राखेको बताए ।

सरकारले ल्याउने कानुनहरूलाई ध्यानमा राखेर प्राथमिकताका आधारमा रास्वपाले सदनमा जिम्मेवार भूमिका निर्वाह गर्ने बताए ।
लामिछानेले भने, “जनताको पक्षमा सही सूचना प्रवाह गर्ने हो भने पत्रकारिता दलगत भावनाबाट माथि उठ्न सके मात्रै जनताको दुःख, दर्दलाई सही ढंगबाट उजागर गर्न सकिन्छ । मैले विगतमा पत्रकारिता गर्दा पनि प्रश्नै–प्रश्नै गरेको र प्रश्नभन्दा माथि आफू कहिल्यै गएको थिइनँ ।”

सभापति लामिछानेले आजको पत्रकारिता आधिकारिकतामा आधारित हुनुपर्ने पक्षमाथि जोड दिँदै भने “आज पत्रकारहरूले केही विषयमा सूचना प्रवाह गर्दा आम दर्शक तथा पाठकले प्रवाहित सूचना सही वा तथ्यपरक छ कि छैन भनेर परख गर्ने गरेकाले पत्रकारहरू हिजोभन्दा पनि आज चनाखो र जिम्मेवार बन्नु पर्दछ । अन्यथा उसलाई जनताले मूल्यांकन गर्छन् ।”

राजनीति र पत्रकारिताको सेवा एकैपटक सम्भव नहुने बताउँदै पत्रकारितालाई राजनीतिबाट पर राख्नुपर्नेमा उनले जोड दिए।
सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले रास्वपा मिडिया पृष्ठभुमिबाट सिर्जना भएको पार्टी भएकाले जनताले यस पार्टीलाई आफ्नो सही आवाज उठाउन माया गरेको बताए ।

कार्यक्रममा सभापति लामिछानेले स्वर्गीय तुलबहादुर थापा एवं रूपा थापा स्मृति पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिका प्रधान सम्पादक शिवकुमार भट्टराई ,रफत सञ्चार क्लब क्रियाशील पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका दिलिप थापामगर र नागरिक दैनिकका पत्रकार कृष्ण किसीलाई र कल्पना स्मृति पुरस्कारबाट कर्णाली प्रदेश, क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक एवं वरिष्ठ रेडियोलजिस्ट डा रविन खड्कालाई दोसल्ला ओढाई सम्मान गरे ।

कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठ,स्वर्गीय तुलबहादुर थापा एवं रूपा थापा स्मृति पत्रकारिता पुरस्कार तथा कल्पना स्मृति प्रतिष्ठानका संरक्षक प्रेमबहादुर थापा र रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापा लगायतले रफत सञ्चार क्लब जहिले पनि सत्य र न्यायको पक्षमा रहने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्