विन्ध्यवासिनी अवार्डको ५ सम्मान सिफारिस र अनुमोदन



काठमाडौं ।

आगामी चैत महिनामा राजधानीमा आयोजना हुने १४औँ विन्ध्यवासिनी म्युजिक अवार्ड २०८० अन्तर्गतको विभिन्न पाँच सम्मान घोेषणा गरिएको छ।

अवार्ड आयोजक विन्ध्यवासिनी फाउन्डेसनले हालै राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट होटलमा फाउन्डेसनको दशौं भेला तथा चौधौं विन्ध्यवासिनी म्युजिक अवार्ड २०८० मा प्रदान गरिने सम्मानका लागि छलफल, सिफारिस र अनुमोदन कार्यक्रम आयोजना गरी बृहत् छलफलपश्चात् विभिन्न सम्मान र पुरस्कारका लागि संगीतकर्मी र पत्रकारको नाम सिफारिस गर्दै अनुमोदन गरी घोेषणा गरेको हो।

भेलाले मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा हुने रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०८० आगामी चैत १ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न गर्ने निर्णय गरेको छ।

भेलामा फाउन्डेनका सल्लाहकारहरू गीतकार किरण खरेल र दिनेश अधिकारी तथा संगीतकार दीपक जंगम र शक्ति बल्लभको समितिले यस वर्षको विन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड नगद एक लाख रुपिया“सहित ख्यातिप्राप्त गायिका तथा संगीतकार मीरा राणालाई प्रदान गर्न सिफारिस गरेको छ भने भेलाले त्यसलाई अनुमोदन गरेको छ।

सल्लाहकार समितिले विन्ध्यवासिनी संगीत साधना सम्मान नगद ५० हजार रुपिया“सहित संगीतकार भूपेन्द्र रायमाझीलाई तथा मुर्धन्य गायक प्रेमध्वज प्रधानको नाममा स्थापित २५ हजार रुपियाँसहित प्रेमध्वज संगीत रत्न सम्मान गायक रूपक डोटेललाई प्रदान गर्न सिफारिस गर्‍यो भने भेलाले त्यसलाई अनुमोदन गरको छ। यी सम्मानको सिफारिशको घोषणा संगीतकार दीपक जंगमले गरेका थिए।

त्यसैगरी राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान नेपालले लोक गायक झलकमान गन्धर्वको नाममा स्थापित यस वर्षको झलकमान लोक–संगीत सम्मान २०८० गायक राजु परियारलाई प्रदान गर्न सिफारिस गरेको छ भने भेलाले अनुमोदन गरेको छ। सो सम्मानको सिफारिसको घोषणा प्रतिष्ठानकी अध्यक्ष रीता थापाले गरेकी थिइन्।

त्यसैगरी कला पत्रकारिता सम्मान सिफारिस समितिले यस वर्षको विन्ध्यवसिनी कला पत्रकारिता सम्मान नगद २५ हजार रुपिया“सहित पत्रकार शान्ति प्रियलाई प्रदान गर्न सिफारिस गरेको छ भने भेलाले अनुमोदन गरेको छ। समितिका संयोजक पत्रकार विदुर गिरीले छलफलपश्चात् सिफारिस घोषणा गरेका थिए।

फाउन्डेसनले हरेक वर्ष अवार्ड आयोजना गर्नुअघि संगीतकर्मी र पत्रकारको विशेष भेला आयोजना गरी सम्बन्धित संगीतकर्मी र पत्रकारबाट सिफारिस नाम अनुमोदन गरी घोषणा गर्ने गर्दछ।

फाउन्डेसनका सचिव परमानन्द खनालद्वारा सञ्चालित भेलामा आयोजक सुवास रेग्मी तथा विभिन्न संघ संस्थाका पदाधिकारीले संगीत क्षेत्र र विन्ध्यवासिनी अवार्डबारे चर्चा गरेका थिए।

फाउन्डेसनकी अध्यक्ष लीना रेग्मीले अवार्ड समारोह अघिल्ला वर्षभन्दा भव्य ढंगले आयोजना गर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्