गीतकार अधिकारीले पढेका ५१ पुस्तक सार्वजनिक



काठमाडौं ।

गीतकार तथा पत्रकार गीता अधिकारीले आफ्नो जन्मदिन पारेर मैले पढेका ५१ पुस्तक नामक पुस्तक राजधानीमा हालै आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

मिलाप पब्लिकेसनको आयोजनमा सम्पन्न कार्यक्रममा प्रमूख अतिथि साहित्यकार तथा कथाकार माया ठकुरी, पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, साहित्यकार खेमनाथ दाहाल, पुस्तकककी लेखक गीता अधिकारी, सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवा, हिमालय टाइम्स दैनिकका कार्यकारी निर्देशक उज्ज्वल शर्मा, प्राडा अर्जुनदेव भट्ट, पब्लिकेसनका अध्यक्ष कृष्ण भुसाललगायतले सो पुस्तक सार्वजनिक गरेका हुन्।

कार्यक्रम लेखिका अधिकारीले आफूले पढेका र विभिन्न पत्रिकामा प्रकाशित भएका पुस्तक परिचयलाई आफ्नो पुस्तकमा समावेश गरेको जानकारी गराइन्।

‘पत्रकारितामा संलग्न हुँदै गर्दा मैले पढेर विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका लेखलाई यसमा समावेश गरेकी छु। यसलाई समीक्षाभन्दा पनि पुस्तक परिचयका रूपमा बुझ्नका लागि अनुरोध गर्दछु’ लेखिका अधिकारीले भनिन्।

पुस्तकमा रहेका स्रष्टामध्येबाट उपन्यासकार सन्तोष श्रेष्ठले गीताले पत्रकारितमा रहँदा रहँदै कृति पाठकमाझ ल्याएकोमा बधाई दिँदै केही कमिकमजोरीका बाबजुद राम्रो कृति आएको चर्चा गरे।

चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष तथा गीतकार शान्तिप्रियले गीतासँगको सहकार्यको सम्झना गर्दै चलचित्र पत्रकारितमा लामो समयसम्म टिकिरहनु नै महत्वपूर्ण भएको बताए।

सञ्चारिकका समूहकी अध्यक्ष विमला तुम्खेवाले महिला सञ्चारकर्मीले अघि बढ्नका लागि समाजमा निकै संघर्ष गर्नुपर्ने तीतो यथार्थ रहेको जनाउँदै गीताले पनि संघर्ष गर्दै आफूलाई अघि बढाइरहेको बताइन्।

प्रमुख अतिथि ठकुरीले आफ्नै वरिपरि रहेका परिवेशलाई आफ्ना प्रस्तुतिमा स्थान दिनुपर्ने विचार व्यक्त गरिन्। लेखिका अधिकारीका यतै घमाइलो उतै घमाइलो, तीजैमा व्रत बसी, बजाउँदै चुरा, स्वास फेरी, छम्म छम्मजस्ता एकदर्जन जति गीत आएका छन्।

एक सय ९२ पेजको उनको पुस्तकको मूल्य चार सय रुपियाँ राखिएको छ।

प्रतिक्रिया दिनुहोस्