पारोलाई हराउँदै थ्रीस्टार सेमीफाइनलमा



पोखरा ।

आहा रारा कपको क्वार्टरफाइनलमा नयाँ टिम, नयाँ जोश लिएर थ्रीस्टार क्लबले पारो एफसीको सामना गर्दै थियो। पारो भुटानको बलियो टोली हो। एएफसीमा समेत राम्रो प्रदर्शन गरिसकेको टोली हो। त्यसैले थ्रीस्टारलाई समस्या थियो विदेशी क्लबसँग खेल्नु।

घरेलु मैदानमा खेलिरहेको टोलीले विदेशी टोली विरुद्धको रणनीतिमा आफूलाई उभ्यायो र अन्ततः सफल पनि भयो। थ्रीस्टारको रणनीति सुरुवाती पहिलो १५ मिनेटभित्र नतिजा निकाल्नु थियो तर, शनिबारको खेलमा भने हतारमा थ्रीस्टार देखिएन।

खेल हेर्दा थ्रीस्टार ९० मिनेटको खेल बराबरीमै रोक्ने र पेनाल्टी सुटआउटसम्म पुर्‍याउने योजनामा थियो। नेपाली फुटबलमा चर्चित भेट्रान खेलाडी विराज महर्जनलाई बेन्चमै राखेर थ्रीस्टारले आफ्नो टोलीको सुरुवात गरेको थियो।

९० मिनेटपछि थ्रीस्टार हाबी हुन चाहन्थ्यो र भयो पनि । यो कुरामा थ्रीस्टारका प्रशिक्षक विक्रम लामा पनि सहमत थिए।योजना अनुरुपमै निर्धारित समयमा पारोलाई रोक्दै थप गरिएको अतिरिक्त समयमा २–० को अग्रता लिँदै थ्रीस्टार सेमीफाइनलमा प्रवेश गर्न सफल भयो।

थ्रीस्टारले थप गरिएको अतिरिक्त समयको पनि दोस्रो हाफको अन्तिम तिर गोल गर्‍यो । थ्रीस्टारका लागि दुवै गोल आशिष चापागाईंले गरेका थिए । अतिरिक्त समयमा ११४ र ११९औं मिनेटमा उनले गोल गरे।

आशिषले पेनाल्टी बक्सबाट उत्कृष्ट प्रहार गर्दै गोल गरेका थिए । थ्रोइन बलमा विराजले थ्रो गर्दै पुनः बल नियन्त्रणमा लिँदै बल क्रस गरेका थिए उक्त बलमा दीपेश आलेमगरले दिएको पासमा चापागाईंले गोल गरे । दोस्रो गोल भने थ्रीस्टारले उपहार पाए सरह भयो।

११९औं मिनेटमा चापागाईंले व्यक्तिगत दोस्रो गोल खाली पोस्टमा गरे। प्रतिस्पर्धात्मक बनेको खेलमा आशिषले निर्धारित समयभित्रै पटकपटक गोल गर्ने अवसर खेर फालेका थिए।

थ्रीस्टार आहाराराको उपाधि पाँचौंपल्ट जितिसकेको छ। अब सेमिफाइनलमा थ्रीस्टारले माघ १७ गते जावलाखेल र मनाङ मर्स्याङ्दीबाट विजेता टोलीसँग अन्तिम ४ का लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्