नवीकरणीय ऊर्जाको प्रयोग र उत्पादनलाई दोब्बर बनाउने लक्ष्य



काठमाडौँ। 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले वैकल्पिक ऊर्जा तथा नवीकरणीय ऊर्जाको क्षेत्रमा बदलिएको परिस्थिति तथा समयको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ सरकारले ‘नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतासम्बन्धी विधेयक’ ल्याउने तयारी गरेको बताएका छन्  । अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २७औँ वार्षिकोत्सवलाई शुक्रवार सम्बोधन गर्दै  उनले सो कुरा बताएका हुन् ।

विश्वव्यापी रुपमा बढ्दो क्रममा रहेको जलवायु परिवर्तनबाट सिर्जित समस्यालाई न्यूनीकरण गर्न र खनिज इन्धन युगको अन्त्यको शुरुवात मूल नाराका साथ सम्पन्न कोप–२८ ले सन् २०३० सम्म नवीकरणीय ऊर्जाको प्रयोग र उत्पादनलाई दोब्बर बनाउने लक्ष्य राखेको जानकारी दिँदै मन्त्री बस्नेतले आन्तरिकरूपमा पनि यही नीतिअनुसार नै अगाडि बढ्ने बताए ।

सरकारले सधैँ निजी क्षेत्रको जायज माग सम्बोधन गर्दै आएको स्पष्ट पार्दै नवीकरणीय ऊर्जाको क्षेत्रमा क्रियाशील संघसंस्था वा व्यवसायीसँग पनि सरकार मिलेर काम गरिरहेको उल्लेख गरे ।

विश्वव्यापी रुपमा भएको तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा कायम राख्नुपर्ने चुनौतिलाई आत्मसात गर्दै आगामी दिनमा जलवायु परिवर्तन न्यूनीकरण र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको विकासको अवस्थालाई अझ तीव्र रुपमा अघि बढाउन सरकार  प्रतिबद्ध रहेको बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकीले ऊर्जा क्षेत्रको समग्र विकास गर्ने ध्येयका साथ सरकारले आवश्यक कानुनी, संरचनागत प्रबन्ध गरेको र त्यसलाई कार्यान्वयनमा ल्याएको बताए । उनले १६औं योजनामा ऊर्जा सम्मिश्रणको अवधारणालाई प्राथमिकतामा राख्दै नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतालाई महत्व दिइने बताए ।

समारोहमा बोल्दै जल तथा ऊर्जा आयोग सचिवालयका सचिव सरिता दवाडीले नवीकरणीय ऊर्जा नेपालको लागि अत्यन्त महत्त्वपूर्ण विषय रहेको  र यसले कार्बन उत्सर्जन न्यूनीकरणमा प्रभावकारी भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा यसको प्रवद्र्धनलाई व्यापक बनाइनुपर्ने बताइन्  ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले वैकल्पिक र नवीकरणीय ऊर्जाको क्षेत्रको विविध आयामका बारेमा आफ्नो धारणा राखेका थिए ।

त्यसैगरी नेपाल नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले नेपालमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवर्द्धन र विकासमा निजी क्षेत्रको उल्लेख्य भूमिका रहेको चर्चा गर्दै नवीकरणीय ऊर्जाको दायरालाई आगामी दिनमा अझ फराकिलो पार्दै लानुपर्ने बताए ।

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रको आर्थिक वर्ष २०७९-८० को वार्षिक कार्य प्रगतिको साथै नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतामा नेपालको हालको अवस्था र आगामी मार्गचित्रबारे कार्यपत्र प्रस्तुत गरेका थिए  ।कार्यकारी निर्देशक ढकालले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको विकासको लागि सबैमा विद्युत पहुँच तथा खाना पकाउने स्वच्छ ऊर्जाको पहुँच पु¥याउनुपर्ने कुरामा जोड दिंदै ऊर्जा सम्मिश्रण तथा ऊर्जा रुपान्तरणको लागि आर्थिक तथा प्राविधिक सहयोग तथा यस क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्ने उल्लेख गरे।

सो अवसरमा नवीकरणीय ऊर्जाको क्षेत्रमा महत्त्वपूर्ण योगदानको कदर स्वरुप सिम्पल इनर्जी प्रा.लि., खिम्ती ग्रामीण विद्युत सहकारी तथा भेञ्चर वेष्ट टु इनर्जी प्रा.लि.लाई सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

त्यसैगरी सोही अवसरमा केन्द्रमा २० वर्षभन्दा बढी अवधि सेवा गरेका कर्मचारीहरु सम्मानित हुनुभएका  कर्मचारीहरु केन्द्रका निर्देशक डा. सूर्य कुमार सापकोटा, निर्देशक रुद्र प्रसाद खनाल, वरिष्ठ अधिकृत सन्तोष राई, प्रशासकीय अधिकृत सविता अर्याल, सवारी चालक सूर्य स्याङ्तनलाई दीर्घ सेवा सम्मानबाट सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्