नेपालले सुपरसिक्समा भारत र बंगलादेशसँग खेल्ने



आईसीसी यू १९ विश्वकपको सुपरसिक्समा नेपालले भारतसँग खेल्ने पक्का भएको छ । शुक्रबार अफगानिस्तानमाथि रोमाञ्चक १ विकेटले जितेसँगै नेपाल सुपर सिक्समा तेस्रो टोलीको रुपमा पुगेको हो । समूह डी बाट न्युजिल्यान्ड र पाकिस्तान शीर्ष दुई टोलीको रुपमा सुपरसिक्समा पहिल्यै पुगिसकेका छन् ।

चार समूहमा विभाजित गराएर संचालन विश्वकपमा नेपाल समूह डी मा परेको हो । नेपालले यसअघिका दुबै खेल न्युजिल्यान्ड र पाकिस्तानसँग हार बेहो¥यो । समूहको तेस्रो टोली पनि सुपरसिक्समा पुग्ने प्रावधान अनुसार नेपालले दुई खेल हारेर पनि एक जितले सुपरसिक्समा पु¥यायो ।

प्रतियोगितामा समूह ए र समूह डी बीच सुपरसिक्सका खेल हुनेछ भने समूह बी र सीबीच अर्को सुपरसिक्सका खेल हुनेछ । सुपर सिक्सका दुई समूहमा खेलाइएपछि शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् ।

सोही प्रावधान अनुसार समूह विजेता टोलीले अर्को समूहको दोस्रो र तेस्रो टोलीसँग खेल्नेछ । यस्तै समूह उपविजेता टोलीले अर्को समूहको पहिलो र तेस्रो टोलीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल तेस्रो स्थानमा रहेको हुनाले समूह ए का पहिलो र दोस्रो टोलीसँग खेल्नेछ ।

समूह ए मा भारतले दुई खेल जितेर ४ अंक जोडेको हुनाले नेपालले भारतसँग खेल्ने पक्का भएको हो । बंगलादेशको २ खेलमा २ अंक भएपनि नेपालको बंगलादेशसँग अर्को खेल हुने संभावना छ । किनभने यो समूहमा आयरल्यान्डले तीनै खेल खेलेर २ अंक जोडेको छ । अर्को टोली अमेरिका हुनाले पनि बंगलादेशले अमेरिकामाथि जित हात पार्ने संभावना पनि बलियो छ ।

प्रतिक्रिया दिनुहोस्