मुलुकको राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्र हितका लागि एमालेको नेतृत्व आवश्यक : महासचिव पोखरेल



म्याग्दी। 

 नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्र हितका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको बताएका छन्  । एमाले म्याग्दीको १०औं जिल्ला अधिवेशनको आज (शुक्रवार) बेनीमा उद्घाटन गर्दै उनले यस्तो बताएका छन्।

महासचिव पोखरेलले देश विकास र संविधानको रक्षाका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताउँदै देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितका लागि वर्तमान गठबन्धन सरकार अभिशाप बनेको आरोप लगाए । उनले नेकपा एमालेको नेतृत्व मुलुकको राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्र हितका लागि अपरिहार्य रहेको विषयलाई नेपाली जनताको बीचमा लगेर देशलाई सङ्कटबाट जोगाउन सकिने बताए ।

सुन तस्करहरुसँग वर्तमान गठबन्धन सरकारको उठबसको कारणले गर्दा देशमा आर्थिक सङ्कट गहिरिँदै गएको आरोप लगाउँदै महासचिव पोखरेलले देशमा लगानीको वातावरण नबन्दा विदेश पलायनको दर उच्च रहेको बताए । उनले यसअघि एमाले नेतृत्वको सरकारले सुरु गरेको राष्ट्रिय गौरवका विकास निर्माणका आयोजनाहरुमा वर्तमान गठबन्धन सरकारले बजेट कटौती गरेर निर्माणाधीन विकासे आयोजनाहरुलाई बीचैमा प्रभावित बनाएको बताए ।

महासचिव पोखरेलले वर्तमान सरकार इतिहासकै कमजोर र राष्ट्रियतालाई ध्यान नदिई सत्ता जोगाउन विदेशीसामु लम्पसार परेको आरोप लगाए । उनले भने– ‘यो सरकार देशका लागि कुनै पनि हिसाबले हितमा छैन, अहिलेको सरकारकै कारण देश सङ्कटमा फस्दै गएको छ ।’ वर्तमान सरकारका प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा देशले के गुमाउनुपर्ने हो भन्ने चिन्ता हुने गरेको उनले बताए । एमालेले नेतृत्व गरेको सरकारले भारतीय नाकाबन्दीको सामनासहित देशको स्वाधीनता, स्वाभिमान, राष्ट्रहितको पक्षमा एमाले खरो रुपमा उत्रिएको स्मरण गर्दै गठबन्धन सरकारले विदेशीसामु नेपालीको शिर झुकाउने काम मात्रै गरेको बताए ।

तत्कालीन एमाले नेतृत्वको सरकारले नाकाबन्दीको सामना, चीनसँग पारवहन सन्धी–सम्झौता गरेर भारतसँग वर्षौंदेखि नसुल्झिएका समस्या सुल्झाउने विषयमा नेतृत्व गरेको अवस्थामा अहिलेको सरकारले भारतको अनुकुल हुने गतिविधिमा केन्द्रित भएको महासचिव पोखरेलको भनाइ छ । ‘अहिलेको कमजोर अवस्था गठबन्धनको सरकारकै कारण उत्पन्न भएको हो । एमाले सत्ता बाहिर भए पनि अन्तर्राष्ट्रिय फोरमहरुमा जनताको पक्षमा, राष्ट्रिय हितको एजेण्डामा निरन्तर अडान लिइरहेको छ’ उनले भने ।

महासचिव पोखरेलले मुलुक बनाउने एजेण्डा बोकेको पार्टी सत्ता बाहिर हुँदा अहिले जनताले दुःख पाएको बताउँदै वर्तमान सरकार भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक बनेको आरोप पनि लगाए । देश बर्बाद हुनबाट जोगाउन गठबन्धन सरकारलाई जनताले विस्थापित गर्नुपर्ने उनले बताए ।

अधिवेशन उद्घाटनसत्रमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवद्वय गोकर्ण विष्ट र पद्यमा अर्यालले सम्बोधन गर्दै वर्तमान सत्ता गठबन्धनकै कारणले देशमा आर्थिक सङ्कट चुलिँदै गैरहेको आरोप लगाए । उनीहरुले सरकारले गलत गर्दै जाने तर प्रतिपक्षमा हुँदा पनि अन्य दल र मिडियाले एमालेमाथि निरन्तर प्रहार गर्ने काम भैरहेको बताएका  थिए । वर्तमान सरकार हरेक मामिलामा असक्षम र असफल सवित भैरहेको एमाले नेताहरुको भनाइ छ ।

कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्यहरु किरण गुरुङ, खगराज अधिकारी, थममाया थापा, एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, म्याग्दी जिल्ला इन्चार्ज गोविन्द नेपाली र बागलुङ अध्यक्ष हिरा केसीले शुभकामना मन्व्य व्यक्त गरेका थिए  । अधिवेशनको अवसर पारेर गएको असोज तेस्रो साता रुकुम पश्चिम र जाजरकोटमा भूकम्पबाट क्षति भएका संरचनाको निर्माणमा म्याग्दीबाट खटिएका उदय दर्जी, खुम किसान, कुशल किसान र कृष्ण सेन्च्युरीलाई सम्मान गरिएको थियो ।

अधिवेशनको उद्घाटनसत्र एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण सुवेदीको स्वागत र सचिव सुरत केसीको सञ्चालनमा सम्पन्न भएको थियो । शनिवारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ भने जिल्लाभरबाट एमालेका ४ सय १९ जना प्रतिनिधिहरुले अधिवेशनमा सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्