संयुक्त परामर्श सम्मेलनमा सहभागी हुन चिनियाँ उपमन्त्री सुन हेयान नेपालमा



काठमाडौँ। 

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान शुक्रवार बिहान नेपाल आइपुगेका छन्  ।

आगामी माघ १४ गते (जनवरी २८) आइतबार चीन र नेपालको विकास र सहयोग सन्दर्भमा काठमाडौँमा आयोजना हुने चीनको कम्युनिस्ट पार्टी (सीपीसी) का सदस्य तथा नेपालका राजनीतिक दलहरु बीचको संयुक्त परामर्श सम्मेलनमा सहभागी हुन हेयान नेपाल आएका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभाग (विदेश सम्पर्क विभाग) ले आयोजना गर्ने संयुक्त परामर्श सम्मेलनमा विकासको सन्दर्भमा दुई देशका राजनीतिक दल र नेताहरु बीच कसरी सहकार्य तथा सहयोग आदानप्रदान हुनसक्छ भन्ने विषयमा छलफल हुने जनाइएको छ ।

संयुक्त परामर्श सम्मेलनमा चिनियाँ कम्युनिस्ट पार्टीको सदस्यहरु र नेपालको राजनीतिक दलका नेता, विभिन्न सङ्गठनका प्रमुख एवं प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहने राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य शोभित उप्रेतीले बताए।

संयुक्त परामर्श सम्मेलनमा सहभागी हुन चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै माल्दिभस, बंगलादेश हुँदै शुक्रवार नेपाल आएका चिनिया कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयानले नेपालमा रहँदा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरुसंग भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयानले नेपाल भ्रमण गर्नुले चीनले नेपालसंगको कूटनीतिक सम्बन्धलाई निरन्तर महत्त्व दिएको देखिएको राप्रपाका केन्द्रीय सदस्य उप्रेतीले बताए ।

प्रतिक्रिया दिनुहोस्