भारतीय दूतावासमा मनाइयाे भारतको ७५ औं गणतन्त्र दिवस



काठमाडौं ।

काठमाडौंस्थित भारतीय दूतावासमा शुक्रबार  भारतको ७५ औं गणतन्त्र दिवस मनाएकाे छ ।नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झन्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए।

सो अवसरमा उनले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरुलाई पनि शुभकामना दिएका थिए । तत्पश्चात कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा  गरेकाे सम्बोधन भिडियोमार्फत प्रस्तुत गरियो । राष्ट्रपतिले आफ्नो सन्देशमा गत स्वतन्त्रता दिवस यता विभिन्न क्षेत्रमा भारतले हासिल गरेको उपलब्धि विशेष गरी भारतको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न जी–२० शिखर सम्मेलन र चन्द्रयान–३ मिशन बारे चर्चासमेत गरेकी थिइन् ।

 

यस्तै कार्यक्रममा राजदूत श्रीवास्तवले मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५.०७ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गरेका थिए । सेवानिवृत्त सैनिकहरुलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै दूतावासले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरुका लागि भारत सरकारको कल्याणकारी पहलहरु समावेश गरिएको भूपू–२०२४ पत्रिकाको लोकार्पण गरिएकाे थियाे  ।

राजदूत श्रीवास्तवले विभिन्न संस्थाहरुलाई पुस्तक उपहारस्वरुप प्रदान गरेका थिए। दूतावासले भारतको ७५औँ गणतन्त्र दिवसको अवसरमा ३० वटा संस्थालाई १९ लाख बराबरको पुस्तक उपहारस्वरुप वितरण गरिएकाे थियाे ।

 कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएकाे थियाे  । दूतावासको सामाजिक सञ्जाल प्लाटफर्ममार्फत उक्त कार्यक्रम प्रत्यक्ष प्रसारण गरिएकाे थियाे  ।

प्रतिक्रिया दिनुहोस्