छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु



काठमाडौं । 

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका-४ एसएस चोकमा बा.३ क १७४५ नम्बरको टिपरले बा.प्र ०२-०३५ प ८०८३ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बलेफी गाउँपालिका-५ बस्ने ४३ वर्षीय उद्धव प्रसाद नेपालको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै काभ्रेको बनेपा नगरपालिका-७ धनेश्वर पुलमा पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा.७० प ३७७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-८ बस्ने २३ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो।

उता रुपन्देहीको ओमसतिया गाउँपालिका-२ स्थित सडकमा लु.७६ प ८०९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक पाल्पा रैनादेवी गाउँपालिका-१ छहरा बस्ने ३२ वर्षीय राम प्रसाद खनालको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।

धनुषाको मिथिला नगरपालिका-१० लालगढस्थित सडकमा ना.६ ख २३७३ नम्बरको ट्रकको ठक्करबाट भक्तपुर मध्यपुर ठिमी नगरपालिका-२ बस्ने ७६ वर्षीया मेनका बर्तौलाको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्