झापा गोल्डकपको विजेताले १३ लाख पाउने



भद्रपुर ।

झापा गोल्डकपको छैटौँ संस्करणको मिति सार्वजनिक गर्दै आयोजकले पुरस्कार राशि वृद्धि गरेको छ। यही फागुन १९ देखि २८ गतेसम्म हुने झापा गोल्डकपको पुरस्कार राशि वृद्धि गरिएको हो।

विजेताले १३ लाख र उपविजेताले ७ लाख रुपैँया प्राप्त गर्ने मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो। पाँचौँ संस्करणमा विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पाएका थिए।

बिर्ताबजारको डोमालाल राजवंशी रङ्गशालामा हुने प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत खेलाडीले पाउने पुरस्कार यो वर्ष बढाइएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए।

पाँचौँ शृङ्खलाको पुरस्कार राशिमा ५० हजार रुपैयाँ वृद्धि गरिएको बताए। त्यस्तै, मस्ट भ्यालुएबल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिने महासचिव गजेन्द्र पौडेलले जानकारी दिए।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउने कोषाध्यक्ष केदार कार्कीले बताए।

प्रत्येक वर्ष हुँदै आएको गोल्डकप केही वर्षदेखि नियमित हुन छाडेको थियो। गोल्डकपका अध्यक्ष बस्नेतले कोरोना सङ्क्रमण र त्यसपछि भएको आर्थिक मन्दीका कारण गोल्डकप नियमित हुन नसकेको जानकारी दिए।

अघिल्ला संस्करणमा झैँ यस वर्ष पनि उद्योगी व्यवसायीको साथ लिएर गोल्डकप सम्पन्न गर्ने आयोजकले जनाएको छ।

यस पटक १ करोड ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताबाट रकम बचत गरी १ करोड बढीको अक्षयकोष निर्माण गर्ने लक्ष्य रहेको पनि आयोजकले बतायो।

प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लबसहित नेपालका ७ र विदेशी ३ गरी १० वटा टिमको सहभागिता रहनेछ।

छैटौँ संस्करणको उद्घाटन समारोहमा झापा जिल्लाका एक जना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिनेछ।

यो वर्ष पनि खेल सञ्चालन हुने रङ्गशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने बताइएको छ।

काठमाडौंबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रूपमा रहेको झापालाई फुटबल हबको रूपमा विकसित गराउन झापा गोल्डकप हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्