अफ्रिकन कपबाट बाहिरिएपछि घानाद्वारा प्रशिक्षक बर्खास्त



काठमाडौं ।

जारी अफ्रिकन कप अफ नेसन्सको समूह चरणबाट बाहिरिएपछि घानाले आफ्ना मुख्य प्रशिक्षक क्रिस हगटनलाई बर्खास्त गरेको छ । घानाले जारी अफ्रिकन कपको समुह चरणमा कुनै खेल जित्न सकेको थिएन ।

घानाले एक खेलमा हार बेहोरेको थियो भने दुई खेल बराबरी खेलेको थियो ।  ३ खेलमा २ अंक हासिल गरेको घाना समुह बी मा तेस्रो स्थानमा रहदै बाहिरिएको थियो ।

घाना फुटबल फेडेरेसनले एक विज्ञप्ति जारी गर्दै क्रिसलाई पदमुक्त गरेको घोषणा गरेको छ । साथै घानाले राष्ट्रिय टिमको प्राविधिक टिमलाई समेत बर्खास्त गरेको छ । फेडेरेसनले राष्ट्रिय टिमको नेतृत्व छिट्टै चयन गर्ने बताएको छ । न्यूक्यासाल र ब्राइटनका पूर्व प्रशिक्षक रहेका क्रिस २०२२ को विश्वकपपछि घानाको राष्ट्रिय टिमको प्रशिक्षक बनेका थिए ।

घानाले १९६३, १९६५, १९७८ र १९८२ गरि चार पटक अफ्रिकन कप जितेको छ भने १९६८, १९७०, १९९२, २०१० र २०१५ मा उपविजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्