आत्मघाती गोलले सहाराको हार

0
Shares

पोखरा ।

सहारा क्लब पोखराको आयोजनामा मंगलबारदेखि २३औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ।

पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको उद्घाटन खेलमा आत्मघाती गोलको शिकार हुँदा आयोजक सहारा क्लब पराजित भयो। पोखरेली टोलीले ललितपुरको थ्रीस्टार क्लबसँग २–१ ले हार व्यहोरेको थियो।

युवा खेलाडीले भरिएका टोलीबीच भएको खेलको सुरुवातमै थ्रीस्टारले अग्रता लिए पनि जोगाउन नसक्दा पहिलो हाफमा १–१ गोलको बराबरीमा सकियो। खेलको छैटौं मिनेटमा सहाराका पासाङ लामाले फाउल गरेपछि थ्रीस्टारले फ्रिकिकको अवसर प्राप्त गरेको थियो।

फ्रिकिकबाट आएको बललाई कप्तान योगेश गुरुङले हेड गरेका थिए। सहाराका गोलरक्षक टेकेन्द्र थापाले बचाउ गर्दा रिवाउन्डमा योगेशले पुनः प्रहार गर्दै गोल गरे। १–० ले पछि परेको सहाराले खेलको २३औं मिनेटमा फ्रिकिकमार्फत् गोल गर्दै बराबरी अवस्थामा ल्याएको थियो।

आदित्य शाक्यले पासाङ लामालाई लडाएपछि फ्रिकिकको अवसर प्राप्त गरेको थियो। लक्ष्मण रुचालले प्रहार गरेको फ्रिकिकमा आशिष गुरुङले गोल गरे। पहिलो हाफमा त्योबाहेक दुवै टोलीले खासै गतिलो गोलको अवसर सिर्जना गर्न भने सकेनन्।

दोस्रो हाफमा थ्रीस्टार पुनः अग्रता लिन सफल रह्यो। ५९औं मिनेटमा सेन्टरलाइनदेखि करिब १० मिटर टाढाबाट एन्जल महर्जनले गरेको सशक्त प्रहार गोल भएको थियो।

सहाराका डिफेन्डर परिवर्तित खेलाडी अनिष तामाङले हेडरमार्फत क्लियर गर्न खोजे पनि सफल भएनन्। उनको टाउकोमा लाग्दै बलले जाली चुम्दा थ्रीस्टार २–१ ले अघि बढेको थियो।

खेलको म्यान अफ दी म्याच थ्रीस्टारका कप्तान योगेश घोषित भए। यस्तै सहारा क्लबले हरेक खेलमा फ्यान अफ दी म्याचसमेत प्रदान गर्ने भएको छ । उद्घाटन खेलमा फ्यान अफ दी म्याच अशोक परियार घोषित भए।

आयुष सम्मानित

सहारा क्लब पोखराले यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान आयुष घलानलाई अर्पण गरेको छ। उद्घाटन खेल हुनुअघि उनलाई नगद ५० हजार ५ रुपैयाँ र सम्मानपत्रले सम्मान गरिएको हो।

राष्ट्रिय टिमका मिडफिल्डर घलान हेटौंडा उपमहानगरपालिका वडा १८ का हुन्। उनले अस्ट्रेलियाविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए।

Skip This