छम्म नाचौँ, छप्प नाचौँ



काठमाडौं ।

गायक, कलाकार, गीतकार तथा एड गुरु निर्मलराज पौडेलको १५ वर्ष लामो अन्तरालपश्चात् नयाँ गीत सार्वजनिक भएको छ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच उनको डान्सिङ नम्बरको गीत छम्म नाचौँ, छप्प नाचौँ सार्वजनिक गरिएको हो।

भिडियोमा अभिनय गर्ने कलाकारको टोलीले एकसाथ ताली बजाउँदै निर्मलको नया“ गीत सार्वजनिक गरेक। गीतमा निर्मलकै शब्द रचना तथा मोहित मुनालको संगीत रहेको छ।

गीतको भिडियोमा गायक तथा कालकार निर्मलराज पौडेलका साथमा सरोज खनाल, विजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडेल, तैयव शाह, निर्मल शर्मा, धिरेन शाक्य, रवीन्द्र खड्का, नारायण प्रधान, गजित बिस्ट, गम्भीर बिस्ट, रामशरण जंगम, माधव थापा, सुनिल कटुवाल, खुश्बु खड्का, नम्रता खरेल, स्नेहा जोशी, गोपाल ढकाल छन्दे, रोहित कार्की, देवी सिंह ओरा, दीपकराज पौडेल, जया सापकोटा, लक्ष्मी थापा, पार्वती अधिकारी, मेनुका पौडेल, राजशे महर्जन, सुनीता कटुवाललगायतका कलाकारले अभिनय र नृत्य गरेका छन्।

मनीष पौडेलले नर्देशन र सम्पादन गरेको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी र महेश पौडेलको छायाँकन निर्देशन रहेको छ।

वेलकम एडभटाइजिङका संस्थापक रहेका निर्मलले १३ वर्षको उमेरदेखि नै स्कुलमा हुने नृत्य, कमेडी र गायन गतिविधिमा सक्रिय भई गायक कलाकारको परिचय स्थापित गरको छन्।

कमस, प्रीति, पुकार, आमाको मायाजस्ता फिल्ममा अभिनय गरेका पौडेललाई नेपाली विज्ञापन क्षेत्रको दुनियाँमा अनौठो र नौलो सिर्जना शैलीका लागि एड गुरुका रूपमा चिनिन्छ।

गायक पौडेलले अन्य गायक गायिकाले गाएका गीतको शैलीभन्दा पृथक् शैलीको गीत गाउने इच्छाले छम्म नाचौँ छप्प नाचौँ तयार पारेको बताए।

‘कहीँ कतै पार्टीतिर नाच्न मन लाग्यो भने हिन्दी वा अन्य विदेशी डिस्को गीत बज्छन्। हामीले नाच्ने खालका मौलिक गीत नै छैनन्। त्यसैले यो गीत तयार पारेको हुँ। विज्ञापनका लागि स्क्रिप्ट लेखिरहने बानी भएकाले गीत लेख्न मलाई गाह्रो भएन’ कार्यक्रममा निर्मलले भने।

१५ वर्षपछि गाएको उनको यो गीतको भिडियो ओएसआर डिजिटल युट्युब च्यानलमा अपलोड गरिएको छ।

प्रतिक्रिया दिनुहोस्