भूकम्पपछिको सम्पदा: ८ वर्षमा ७ सय ७४ सम्पन्न



काठमाडौं ।

भूकम्प गएको आठ वर्षमा ७ सय ७४ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ। पुरातत्व विभागले गत वर्ष ७ सय ६० वटा सम्पदा पुनर्निर्माण सम्पन्न गरेको जनाएको छ।

चालु आर्थिक वर्षको यो महिनासम्म थप १४ वटा सम्पदा पुनर्निर्माण सम्पन्न गरी ७ सय ७४ पुर्‍याएको छ। विभागले पुनर्निर्माणको काम निरन्तर भइरहेको जनाएको छ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले विसं २०७२ साल वैशाख ११ र २९ गते गएको को शक्तिशाली भूकम्पका कारण मुलुकभर ९ सय २० वटा सम्पदा क्षतिग्रस्त भएको जानकारी गराउँदै तीमध्ये अब १ सय ४६ वटा सम्पदा पुनर्निर्माण गर्न बाँकी रहेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘हालसम्म १४ वटा थपिएको छ, चालु आर्थिक वर्षमा ४१ वटाको सूचना प्रकाशन भएर निरन्तर पुनर्निर्माणको चरणमा छौं।’

विभागले हालसम्म झन्डै ८५ प्रतिशत सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको छ। तथ्याङ्कअनुसार हालसम्म सय वर्ष पुराना ५ वटा गुम्बा र अन्य ९ वटा गरी १५ वटा सम्पन्न भएको जनाएको छ।

विभागका महानिर्देशक प्रधानाङ्गले समयमा बजेट उपलब्ध भए भूकम्प क्षतिग्रस्त सबै सम्पदाको पुनर्निर्माण सम्पन्न गर्न करिब ३ वर्ष लाग्ने जानकारी दिनुभयो। तथ्याङ्कअनुसार भूकम्पले २८ जिल्लाका ९ सय २० वटा सम्पदा क्षतिग्रस्त भएका थिए।

विभागले क्षति भएका ९ सय २० वटा सांस्कृतिक सम्पदाहरूको मौलिक स्वरूपलाई यथावत् कायम राखी पुनर्निर्माण गरेको जनाएको छ। सरकारले चालु आवमा सम्पदा पुनर्निर्माण गर्न करिब ८० करोड ८९ लाख रुपियाँ विनियोजन गरेको थियो।

उक्त रकमबाट करिब ५० सम्पदा पुनर्निर्माण सम्पन्न भइरहेको छ। महानिर्देशक प्रधानाङ्गले बजेट अभाव भएको कारण सोचेअनुसार पुनर्निर्माण गर्न नसकिएको बताउनुभयो।

आवश्यकताअनुसार बजेट प्राप्त नहुने र बहुवर्षीय खरिद योजना स्वीकृत नहुँदा एउटै योजनालाई प्रत्येक वर्ष खरिद प्रक्रियामा जाँदा फरकफरक निर्माण व्यवसायीको सहभागिता हुने भएकाले संरक्षणमा एकरूपता हुन नसकेको विभागको भनाइ छ।

हालसम्म करिब एक दर्जन दातृ निकाय, राजदूतावास र संघ संस्थाले सम्पदा पुनर्निर्माण जारी राखेका छन्। चीन सरकारको सहयोगमा वसन्तपुरस्थित नौतले दरबार पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ।

जापान, श्रीलंकन सरकार, युनेस्को, केभीपीटी, स्वयम्भू विकास समिति, कीर्तिपुर, मध्यपुर थिमी, भक्तपुर नगरपालिका, शहरी तथा भवन विभाग, गुठी संस्थान, सम्पदा तथा वातावरण संरक्षण प्रतिष्ठान, हनुमानढोका विकास समिति, बौद्धनाथ विकास समिति, मियामोतो रिलिफ फन्ड, ललितपुर उद्योग वाणिज्य संघ र उपभोक्ता समितिलगायतले सम्पदा पुनर्निर्माण गरेका थिए।

विभागका अनुसार उपत्यकाको हनुमानढोका, पाटन, भक्तपुर, चाँगुनारायण, स्वयम्भु, पशुपतिनाथलगायत विश्वसम्पदा क्षेत्रका अधिकांश सम्पदा पुनर्निर्माणको अन्तिम चरणमा छन्। स्वयम्भु, बौद्धनाथलगायत क्षेत्रको सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेको छ।

विभागले चालु आवमा गोकर्णेश्वरको गोकर्णेश्वर महादेव, सुन्दरीजलको बीपी संग्रहालय, गुल्मीको सिद्धबाबा, वनेपाको गणेशपाटी, सिन्धुपाल्चोकको सत्तल, अर्घाखाँचीको जामे मस्जिद, भक्तपुर सूर्यविनायकको नन्दीकेश्वर र काभ्रे कानपुरका खरदारपाटीको पुनर्निर्माण सम्पन्न भइसकेको जनाएको छ।

विभागले यो वर्षको हालसम्मकै भौतिक प्रगति ७९ दशमलव ९१ प्रतिशत भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्