मधेसमा उपेन्द्र-सीकेबीच रडाको, मधेस कृषि विश्वविद्यालयमा तालाबन्दी



काठमाडौं ।

मधेस प्रदेशलाई मुख्य कार्यक्षेत्र बनाएका उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र डा. सीके राउत नेतृत्वको जनमत पार्टीबीच रडाको मच्चिएको छ।

मधेस प्रदेशमा आफ्नो वर्चस्व देखाउने प्रतिस्पर्धामा उत्रिएका सरकारका सहयात्री दुई दलबीच केही समययता द्वन्द्व चर्किएको हो।

मधेस आन्दोलनबाट राजनीतिको मूल प्रवाहमा आएका यादवले मधेसकै प्रमुख राजनीतिक हस्तीको पहिचान बनाएपछि उहाँको ओज घटाउन डा. राउतले निरन्तर प्रतिकार गर्दै आउनुभएको छ।

अहिले सप्तरीको राजविराजमा रहेको मधेस कृषि विश्वविद्यालयका नाममा यादव र राउतबीच ठूलो लफडा चलिरहेको छ।

विश्वविद्यालयले भवन शिलान्यासमा जसपा अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाउने भएपछि जनमतले आपत्ति जनाउँदै विद्यालयमा तालबन्दी नै गरेको छ।

गत आम निर्वाचनमा सप्तरी क्षेत्रनम्बर–२ बाट पाँच दलीय गठबन्धनका उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले दोब्बरभन्दा बढी मतले हराएसँगै मधेसको राजनीतिमा तरङ्ग उत्पन्न भएको थियो।

त्यसैमाथि टेकेर डा. राउत मधेसमा उपेन्द्रको विकल्पका रूपमा आफूलाई उभ्याउने रणनीतिमा रहनुभएको छ भने उपेन्द्र यादव शाख बचाउन मरिहत्ते गरेर लाग्नुभएको छ।

पछिल्लो निर्वाचनमा नेता राउतले हराएका उपेन्द्रलाई सत्ता गठबन्धनले उपनिर्वाचनमा बारा क्षेत्रनम्बर २ बाट पुनः सांसद बनाएका थिए।

तर, यादवलाई मधेसको राजनीतिबाट पाखा लगाउने अभियानका साथ हरेक विषयमा दबाब बढाउँदै आएका डा. राउतले सत्ता गठबनधनमा समेत असन्तुष्टि व्यक्त गर्दै आउनुभएको छ।

आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारी छनोटको विषयलाई लिएर असन्तुष्ट बनेका डा. राउतले आफ्ना दुई जना उम्मेदवार उठाउनुभएको छ।

डा. राउतको यो कदमपछि सत्ता गठबन्धन दलका शीर्ष नेताहरू उहाँलाई सरकारबाटै हटाउने योजनामा रहेको बताइएको छ।

गठबन्धनको भावनाविपरीत जनमतले उम्मेदवार उठाएपछि उहाँलाई सरकारमा राखिराख्नुपर्ने आवश्यकता नरहेको भन्दै जसपाकै नेताहरूले गठबन्धनमा दबाब बढाएका छन्।

अमेरिका बस्दै आएका डा. राउत मधेस आन्दोलनताका स्वदेश फर्किएर मधेस राजनीतिमा प्रवेश गरेसँगै यादवको टाउको दुखाइको विषय बनेको मधेस आन्दोलनका जानकारहरू बताउँछन्।

मधेसी मोर्चाबाट २०६४ सालमा टुँडिखेलमा भएको आमसभाबाट राजनीतिमा प्रवेश गरेका डा. राउतले भ्रष्टाचारविरोधी अभियान, किसान आन्दोलन, नागरिकतालगायतका विषयमा केन्द्रित भएर आन्दोलन गर्दै आउनुभएको थियो।

अर्धभूमिगत अवस्थामा रहेका राउतलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएको बेला २०७५ साल फागुन २४ गते वार्ताबाट मूलधारको राजनीतिमा ल्याउनुभएको थियो।

त्यतिबेला जसपाका अध्यक्ष उपेन्द्र यादव ओली नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हुनुहुन्थ्यो। मधेस प्रदेशमा सबैभन्दा बलियो रहेको उपेन्द्र नेतृत्वको जसपाले पछिल्लो समय आफ्नो प्रतिस्पर्धी डा. राउत नेतृत्वको जनमत पार्टी हुनसक्ने आँकलन गरेका यादवले तत्कालीन प्रधानमन्त्री ओलीसँग उहाँँलाई मूलधारमा ल्याउने विषयमा असन्तुष्टि जनाउँदै आउनुभएको थियो।

उपेन्द्र यादव र डा. सीके राउतबीचको राजनीतिक टक्कर पुरानो भए पनि पछिल्लो समय दुई नेताबीचको द्वन्द्व थप चरम उत्कर्षमा पुगेको छ। दुई नेताबीचको द्वन्द्व तराईमा कसले वर्चस्व बढाउने भन्ने लडाइँ भएको मधेसका नेताहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्