९ गतेदेखि सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी आयोजना हुने



काठमाडाैं ।
नेपाली सेना दिवसका अवसरमा ९ गतेदेखि १३ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी कार्यक्रम आयोजना गरिने भएको छ ।
प्रदर्शनीमा सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, हातहतियार र उपकरणहरूको प्रदर्शनी गरिनेछ । यसका साथै प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयहरू लगायतको विविध गतिविधि र श्रव्य दृश्य सामग्रीहरू प्रदर्शनीमा राखिने भएका छन्।
आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधिहरू नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा अवलोकनकर्ताहरूलाई माघ ९ गते २ : ०० बजेदेखि ५:०० बजेसम्म र माघ १० गतेदेखि १३ गतेसम्म १०: ०० बजेदेखि ५:०० बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । यस प्रदर्शनीबाट आम नागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई नेपाली सेनाका विभिन्न गतिविधिहरूको बारेमा जानकारी लिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्