राष्ट्रिय सभा निर्वाचन : ३८ प्रकारका ६ हजार ९ सय १० मतपत्र छापियो



काठमाडौं ।

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि ३८ प्रकारका ६ हजार ९ सय १० मतपत्र छपाइ गरेको छ।

यही माघ ११ गते बिहीबार हुने राष्ट्रियसभाको निर्वाचनका लागि स्वीकृत मापदण्ड र डिजाइनबमोजिम मतपत्र कार्य सम्पन्न भएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले बताउनुभयो।

सहायक प्रवक्ता पन्थीका अनुसार ती सबै मतहरू सातवटै प्रदेशको सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकेको छ।

राष्ट्रिय सभाको निर्वाचनमा सातवटै प्रदेशका गरी ५ सय ४९ जना प्रदेशसभा सदस्य मतदाता रहेका छन्। त्यसै गरी ७ सय ५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ हजार ४ सय ९८ मतदाता रहेका छन्।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखको लागि अलगअलग मतपत्रको व्यवस्था गरिएको छ। नगरपालिकाका मेयर उपमेयर तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षले सेतो रंगको कागजमा रातो रंगको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रमा मतदान गर्नेछन्।

त्यसै गरी प्रदेश सभा सदस्यहरूले सेतो रंगको कागजमा हरियो रंगको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रमा मतदान गर्नेछन्।

प्रदेशगत रूपमा रहेका मतदाता सदस्यको संख्या तथा निर्वाचन हुने पद संख्यालाई आधार मानी आयोगले तोकेको संख्यागत मापदण्डका आधारमा मतपत्र छपाइ गरेको थियो।

कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९ सय २०, मधेस प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९ सय ४०, वागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका १ हजार ७ सय ६० र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९ सय मतपत्रहरू रहेका छन्।

त्यसै गरी लुम्बिनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७ सय ४०, कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ७ सय ५० र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९ सय मतपत्रहरू रहेको आयोगले जनाएको छ।

राष्ट्रिय सभाको निर्वाचनमा सातवटै प्रदेशका गरी ५ सय ४९ जना प्रदेशसभा सदस्य मतदाता रहेका छन्। त्यसै गरी ७ सय ५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ हजार ४ सय ९८ मतदाता रहेका छन्।

राष्ट्रियसभा निर्वाचनमा प्रदेश सांसद र पालिका प्रमुख–उपप्रमुख मतदाता रहन्छन्। कुल मतदातामध्ये प्रदेश सभाका सदस्यको प्रतिमतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रतिमतदाता मतभार १९ कायम गरिएको छ।

आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रदेश सभा सदस्यको कुल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कुल मतभार २८ हजार ४ सय ६२ गरी जम्मा ५७ हजार ५ सय ५९ मतभार रहेको छ।

मतपत्र छपाइसँगै आयोगले निर्वाचनको अन्तिम तयारी शुरू भइसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्