त्रिवि सुधारको कदम : सेमेस्टर र वार्षिक क्यालेन्डर सार्वजनिक



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले साउनमा भर्ना भएका पहिलो वर्षका विद्यार्थीले ०८३ चैत दोस्रो सातासम्म चौथो वर्षको पढाइ पूरा गर्नुपर्ने र ०८४ वैशाख दोस्रो साता परीक्षा हुने गरी शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।

विश्वविद्यालय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको जारी आन्दोलनको माग पूरा गर्न परीक्षा नियन्त्रण कार्यालयले मिति नै तय गरेर शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।
साउनको तेस्रो हप्ता स्नातक तह प्रथम वर्ष, २०८१ असोज दोस्रो हप्ता दोस्रो, ०८२ साउन दोस्रो हप्ता तेस्रो र ०८३ असारको दोस्रो हप्ता चौथो भर्ना आवेदन फारम भर्ने कार्यतालिका सार्वजनिक गरेको छ । प्रवेश परीक्षाको सूचना र तालिका सम्बन्धित डीन कार्यालयबाट प्रकाशित गर्ने सूचनामा उल्लेख छ ।
त्रिविले शैक्षिक सत्र २०८० को स्नातक तहको वार्षिक प्रणालीको शैक्षिक क्यालेन्डरमा पहिलो वर्षको परीक्षा भदौ ०८१ दोस्रो साता गर्ने भएको छ । क्यालेन्डरअनुसार साउन दोस्रो सातासम्म मात्रै कक्षा हुनेछ । त्यस्तै, सेमेस्टर प्रणालीअनुसार यस वर्ष भर्ना भएका विद्यार्थीको आठौँ सेमेस्टर ०८४ असोजमा परीक्षा सकिने जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले अबदेखि सबै परीक्षा कार्यतालिकाअनुसार हुने जानकारी दिनुभयो ।
तर, स्ववियुले भने विश्वास गर्न सकेको छैन । स्ववियु सचिव सिद्धान्त भट्टले क्यालेन्डर सार्वजनिक गर्दा स्ववियुलाई जानकारी नदिएको आरोप लगाउनुभयो । ‘सुधार गर्न खोजेकोमा धन्यवाद दिन चाहन्छांै, कार्यान्वयन नभएसम्म विश्वास गर्दैनौं । पनिकाले माघ १५ गतेबाट सबै प्रमाणपत्र अनलाइन प्रणाली लागू गर्ने सूचना जारी गरेको भोलिपल्ट शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।
त्रिविका अनुसार पहिलो सेमेस्टरको परीक्षा ०८१ वैशाख, दोस्रोको ०८१ असोज, तेस्रो सेमेस्टरको ०८१ चैत, चौथो सेमेस्टरको ०८२ भदौ÷असोज, पाँचौंको ०८२ चैतमा परीक्षा गर्ने योजना क्यालेन्डरमा उल्लेख छ । छैटौं सेमेस्टरको परीक्षा ०८३ असोज, सातौँको ०८३ चैत र आठौँको ०८४ असोजमा परीक्षा गर्ने क्यालेन्डरमा उल्लेख छ ।
स्नातकोतर तहको भर्ना आवेदन समाप्त भइसकेको छ । त्यसको मिति साउन पहिलो हप्तादेखि भदौ मसान्तसम्म तय भएको छ । स्नातकोतर तह पहिलो सेमेस्टरको कक्षा सञ्चालन यही महिनादेखि शुरू हुनेछ । दोस्रोको ०८१ साउन, तेस्रो ०८१ फागुन र चौथोको ०८२ पुसमा कक्षा सञ्चालन हुनेछ । सो तहको पहिलो सेमेस्टरको ०८१ असार, दोस्रोको माघ, तेस्रो सेमेस्टरको ०८२ असार र चौथोको ०८२ पुस महिनामा परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको छ ।
दुवै तहको परीक्षाको सूचना र तालिका डीन कार्यालय, प्रथम वर्षपछि भर्ना समय क्याम्पसले तालिका प्रकाशन गर्नेछ । पहिलो वर्षको रजिस्ट्रेसन भर्ना भएको मितिले ५ महिनाभित्र गर्नुपर्ने उल्लेख गरेको छ ।
परीक्षा नियन्त्रक जोशीले क्यालेन्डर प्रकाशित गरेसँगै अब तोकेकै समयमा भर्ना र परीक्षा सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अब त्रिविले क्यालेन्डरअनुसार भर्ना र परीक्षा सञ्चालन गर्नेछ । विद्यार्थीले पाइरहेको झन्झटबाट मुक्त हुनेछन् ।’ क्यालेन्डरमा परीक्षाफल कहिले प्रकाशित गर्ने भन्ने विषय उल्लेख छैन ।
त्रिवि विश्वविद्यालय परीक्षा सुधार तथा समन्वय परिषद्को बसेको बैठकले स्नातक तहको वार्षिक तथा सेमेस्टर प्रणाली र स्नातकोत्तर तहको सेमेस्टर प्रणालीको शैक्षिक क्यालेन्डर प्रकाशित गरेको जनाएको छ । परीक्षा सम्पन्न भएको वर्षौंसम्म पनि परीक्षाफल प्रकाशित नभएपछि विद्यार्थीहरू त्रिविको परीक्षा प्रणालीबाट दिक्क भएका थिए ।
कतिपय विद्यार्थीले पढाइ छाडेर विदेशिन बाध्य भएका थिए । दुवै विषयलाई न्यूनीकरण गर्न र त्रिविको विश्वसनीयतालाई कामय राख्न तालिका सार्वजनिक गरेको हो । स्ववियु सचिव भट्टले तालिकाअनुसार भर्ना र परीक्षा सञ्चालन भए त्रिविको साख जोगिने र विद्यार्थीमा जेठो विद्यालयप्रति विश्वास बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्