मन्त्री ज्वालाद्वारा बेनी–जोमसोम–कोरला सडकको अनुगमन



म्याग्दी।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तरगत बेनी जोमसोम–कोरला सडक योजनाको म्याग्दी खण्डको स्थलगत अनुगमन गरेका छन् । उनले आज (शनिवार) सडक निर्माणमा देखिएका समस्या, निर्माण कम्पनीको ढिलासुस्ती र बाढीपहिरोबाट क्षति पु¥याएको स्थानमा पुगेर निरीक्षण गरेका हुन् ।

मन्त्री ज्वालाले कालीगण्डकी करिडोर अन्तरगत पर्ने बेनी–मालढुङ्गा सडकखण्ड, बेनी–जोमसोम सडकखण्डको म्याग्दी खण्डमा पर्ने भूरुङ तातोपानीसम्म पुगेर निर्माणाधीन अवस्थाको सडकमा देखिएका समस्यालाई पन्छाएर समयमै योजना सम्पन्न गर्न निर्देशन दिए । उनले काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई दण्डित गरिने बताउँदै कालीगण्डकी करिडोर सरकारको प्राथमिकताको योजना रहेको बताए । सडकलाई दीगो र सुरक्षित बनाउन आयोजनाले प्रस्ताव गरेको भीरकाटेको सुरूङमार्गको समेत मन्त्री ज्वालाले अनुमगन गरे।

कालीगण्डकी नदीको कटानबाट साँधुरिएको भीरकाटे खण्डमा बेनी–जोमसोम–कोरला सडक योजनाले ३ सय ८४ मिटर लामो सुरुङ बनाउने प्रस्तावलाई अगाडि बढाउने मन्त्री ज्वालाको भनाइ छ । सुरुङ बनाउन करिब ८८ करोड लागतसहित डिपीआर समेत योजनाले स्वीकृतीका लागि अगाडि बढाएको छ ।

सडक विभाग, बेनी–जोमसोम–कोरला सडक योजनाका प्रतिनिधिलाई लिएर अनुगमनमा आएका मन्त्री ज्वालालाई प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा (खम्बीर), गण्डकी प्रदेशका भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालसहितको टोलीले स्वागत तथा सडकखण्डको समस्याको बारेमा जानकारी गराएको थियो । प्रतिनिधि सभा सदस्य गर्बुजाले बैंसरी–औल जोड्ने पक्की पुलको आवश्यकताको बारेमा स्थानीयवासिन्दासहित मन्त्रीलाई आगामी बजेटमा समावेश गर्न माग गरेका थिए ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री जुग्जालीले पश्चिम म्याग्दीको तातोपानीमा बेलिब्रिजसहितको संरचना बनाउन आवश्यक रहेको बताए । प्रतिनिधि सभा सदस्य गर्बुजा र गण्डकी प्रदेशका मन्त्री जुग्जालीले वर्षात्को समयमा जोखिमपूर्ण स्थान आसपासमा वैकल्पिक मार्ग तथा अपुरो काम गर्ने, निर्माण क्षेत्रमा मजदुर नभएका, विगतका प्रतिबद्धताअनुसार काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोड्ने, धरौटी जफत र कालोसूचीमा राखेर कारवाही गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने बताए । कालीगण्डकी करिडोरको म्याग्दी खण्डको रघुगंगा गाउँपालिका–२, बैंसरी खण्ड तथा अन्नपूर्ण–२ र ३ नम्बर वडामा पहिरो, कमजोर भूगोलका कारण वर्षाको समयमा बाढी, पहिरोले सताउने गरेको छ ।

पहिरोग्रस्त क्षेत्रमा कडा पहरा फुटाउनुपर्ने बाहेक अन्य खण्डमा कालोपत्रेको गर्ने तयारी भैरहेको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । कालोपत्रेसँगै महभीरदेखि पोखरेबगरसम्म चट्टान भएको भागमा बाहेक अन्य खण्डमा सडक विस्तार, नाली तथा पर्खाल निर्माण र सबबेस बिछ्याउने काम सकिएको योजना प्रमुख धु्रब झाले जानकारी दिए ।

चीन र भारत जोड्ने नेपालको छोटो दुरीको कालीगण्डकी कोरिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो । वि.सं. २०७४ सालदेखि स्तरोन्नति सुरु गरिएको बेनी–जोमसोम–कोरला सडकखण्डको म्याग्दी खण्डमा नदी कटान र बाढीपहिरोको समस्या रहेको छ । १ सय ८६ किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिको काममा ढिलाई हुँदा निर्वाचित जनप्रतिनिधि, सरोकारवाला निकाय र सर्वसाधारणको समेत तीव्र गुनासो आएकाले कामको गति बढाउन मन्त्री ज्वालासहितको टोली अनुगमनमा आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्