मुसहर बस्तीमा पूर्वराजपरिवारको १ घण्टा, नागरिकसँग भलाकुसारीदेखि चियापानसम्म  



वीरगन्ज। 

अहिले मधेशमा रहेका  पूर्वराजा ज्ञानेन्द्र शाहले बाराको जीतपुरसिमरा  उपमहानगर ६ स्थित मुसहर बस्ती पुगेर एक घण्टा आफ्नो समय बिताएका छन्  । प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले गत असोज १२ गते मुसहर समुदायका २० परिवारलाई उक्त बस्ती हस्तान्तरण गरेको थियो ।

पूर्वराजपरिवार भित्रका सदस्यले निर्माण गरी हस्तान्तरण गरेको बस्ती अवलोकन गर्न शनिबार त्यहाँ पुगेका हुन् । पूर्वराजा ज्ञानेन्द्रसँग पत्नी कोमल, छोरी प्रेरणालगायत पूर्वराजपरिवाका सदस्य सहभागी थिए ।बस्तीमा निर्माण भएको घरभित्र पसेर पूर्वराजदम्पतीले मुसहर समुदायका नागरिकसँग भलाकुसारी गरेका थिए ।

बस्तीमा एक घण्टा बिताएका उनीहरुले चिया समेत पिएका थिए । पूर्वराजपरिवारको स्वागतमा मुसहर समुदायका युवायुवतीले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। यसअघि पूर्वराजदम्पतीलाई बस्तीमा बसोबास गर्ने २० वटै घरका परिवारका सदस्यले स्वागत गरेका थिए ।

सो क्रममा बस्तीमा बसोबास गर्ने नागरिकका लागि दिवा भोजनको व्यवस्थापन गरिएको थियो । पूर्वराजाले दिवाभोजनका लागि बनाइएको परिकार समेत हेर्न भ्याएका  थिए भने उनले बस्तीका नागरिकलाई खाना खान आग्रह गरेको समेत देखिएको थियो ।

 पूर्वराजालाई बस्तीमा स्वागत गर्न पाउँदा मुसहर समुदायका नागरिक खुसी देखिन्थे । एक साता अघि सिमरा आएका पूर्वराजा ज्ञानेन्द्र शाहले केही दिनअघि पर्सा राष्ट्रिय निकुञ्जको सफारी गरेका थिए भने अहिले सिमरामा रहेका  शाह आइतबार हेटौंडा जाने कार्यक्रम तय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्