‘बालमैत्री पालिका’ मा भेटिए बालश्रमिक



हेटौंडा ।

मकवानपुर जिल्लाको बालमैत्री पालिका मनहरी गाउँपालिकाका होटल तथा वर्कसपमा अनुगमन गर्दा ३ बालश्रमिक भेटिएका छन्।

श्रम तथा रोजगार कार्यालय मकवानपुर, मनहरी गाउँपालिका र बाल हेल्पलाइन मकवानपुरको संयुक्त टोलीले बिहीबार संयुक्त अनुगमन गर्दा बालश्रमिक भेटिएका हुन्।

बाल हेल्पलाइन मकवानपुर संयोजक झविन्द्र ज्ञवालीका अनुसार २० वटा होटल तथा वर्कसपमा अनुगमन गर्दा ३ बालश्रमिक भेटिएका छन्।

मनहरी—७ र ९ को बजारआसपासका १७ वटा होटल र ३ वटा वर्कसपमा बालश्रम प्रयोग भए/नभएको सम्बन्धमा अनुगमन गरिएको थियो। अनुगमन गर्दा मनहरी—७ स्थित मनहरी अटो सेन्टरबाट १७ वर्षीय एक बालक फेला परेको ज्ञवालीले जानकारी दिनुभयो।

गुरुङ होटलबाट १६ वर्षीय बालक र चैनपुर रोडस्थित एभरेस्ट मम होटलबाट १५ वर्षीय बालक बालश्रम गरिरहेको अवस्थामा फेला परेका हुन्।

श्रममा लगाउने होटल व्यवसाय तथा सञ्चालकलाई कारबाही प्रक्रिया अगाडि बढाइएको श्रम तथा रोजगार कार्यालय हेटौंडाका बालश्रम शाखाका फोकलपर्सन भीम शर्माले जानकारी दिनुभयो।

रजैयाको मैनाली खाजा घर, रिभरसाइड होटल, मनहरी अटो सेन्टर, एभरेस्ट मम होटल, गुरुङ होटल, स्पिट अटोमोटिभ, मनकामना ग्रील उद्योग, रोस्मित होटल एन्ड लज, प्रजापति होटल, निलम होटल एन्ड लजमा अनुगमन गरिएको थियो।

थापा होटल, सायमी होटल, रामचन्द्र होटल एन्ड लज, स्वागत होटल एन्ड लजलगायत होटल तथा वर्कसपमा अनुगमन गरिएको थियो।

मनहरी गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा भएको पालिका हो। तर, पनि बालश्रम भेटिराखेको हुँदा यस सवालमा सबै सरोकारवाला पक्षबाट निरन्तर काम गरिरहनु आवश्यक भएको मनहरी गाउँपालिका प्रशासकीय प्रमुख रमेश सुबेदीले बताउनुभयो।

अघिल्ला अनुगमनको तुलनामा यसपटक बालश्रमिक संख्या कम पाएको छ। होटल व्यवसाय तथा सञ्चालकसचेत रहेकाले बालश्रमिकको संख्या कम पाएको गाउँपालिका उपाध्यक्ष सीता पुलामीमगरको धारणा छ।

आगामी दिनमा अनुगमनमा जाँदा बालश्रम प्रयोग नभएको व्यवसायमा बालश्रममुक्त व्यवसायको स्टिकर टाँस गर्ने योजना बनाउन सुझाव दिइएको छ।

प्रतिक्रिया दिनुहोस्