जाजरकोट रूकुम पश्चिममा शैक्षिक क्षति, १ हजार विद्यालय निर्माणमा साढे ६ अर्ब लाग्ने



काठमाडौं ।

जाजरकोट र रूकुममा गएको भूकम्पले ध्वस्त र क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माण गर्न करिब साढे ६ अर्ब रुपियाँ लाग्ने भएको छ।

दुई जिल्लामा पूर्ण क्षति भएका ७ सय ४६ भवन पुनःनिर्माण गर्न उक्त रकम लाग्ने अनुमान गरिएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक टोलीले स्थलगत अध्ययन गरी पेस गरेको प्रतिवेदनको आधारमा मन्त्रालयले साढे ६ अर्ब लाग्ने अनुमान गरेको जनाइएको छ।

अनुमानित रकमको आधारमा दातृ निकायसँग पत्राचार गरी विद्यालय भवन निर्माण गर्न आग्रह गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

मंसिरमा सम्पन्न दातृ निकायको बैठकमा आठ दातृ निकायले जाजरकोट र रूकुममा गएको भूकम्पले ध्वस्त भएका विद्यालय पुनःनिर्माण गर्न चासो देखाएका थिए।

सोही आधारमा मन्त्रालयले आवश्यक पत्राचार गरेको हो । मन्त्रालयले कातिकमा गएको भूकम्पमा परी पूर्ण र आंशिक रूपमा क्षति भएका करिब १ हजार विद्यालय पुनःनिर्माण गर्न आग्रह गर्दै पत्राचार गरेको हो।

मन्त्रालयले मंसिर १५ गते भूकम्पमा ध्वस्त र क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माण गर्न अपिल गरेको थियो। सोही आधारमा मन्त्रालयलको वैदेशिक शाखाले दातृ निकायलाई पत्राचार गरेको हो । सो पत्रको आधारमा आउँदो साता दुई निकायबीच बैठक बस्नेछ।

सो बैठकपछि दातृ निकायले गर्ने सहयोगको बारेमा जानकारी गराइने छ । विद्यालय भवन निर्माण गर्ने वचन दिने आठ दातृ निकायमा एसियाली विकास बैंक(एडीबी,) फिनल्यान्ड, युरोपियन युनियन ग्लोबल पाटर्नरसिप एजुकेसन(जीपीई),नर्वेजियन दूतावास, युनिसेफ, यूएसएआइडी र विश्व बैंक छन्।

शिक्षा, तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत नेपाल शिक्षा समूह (शिक्षा क्लस्टर)ले तयार पारेको तथ्याङ्क भूकम्पमा परी १३ स्थानीय तहको ७ सय ४६ विद्यालयका २ हजार १ सय २२ भवनमा क्षति पुगेको उल्लेख छ। स्थलगत अध्ययनपछि तयार पारिएको प्रतिवेदनअनुसार भूकम्पले क्षति पुगेका विद्यालयलाई पाँच समूहमा विभाजन गरिएको छ।

जसअनुसार पहिलो र दोस्रो समूहमा परेका विद्यालय भवन रेक्टोफिट वा अन्य प्रबिधिबाट निर्माण गरी पढाउन मिल्नेछ। तेस्रो समूहमा परेका विद्यालय भवन रेक्ट्रोफिट गर्नुपर्ने अवस्थाको तथा चौथो र पाचौं समूहको विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएर तत्काल निर्माण गर्नुपर्ने उल्लेख छ।

जाजरकोटमा पहिलो समूहमा २ सय ५५, दोस्रोमा २ सय ४३, तेस्रोमा २ सय ७०, चौथोमा २ सय ५ र पाँचौं समूहमा १ सय १७ भवन रहेका छन्।

त्यस्तै, रूकुम पश्चिममा पहिलोमा २ सय ९१, दोस्रो समूहमा १ सय ४१, तेस्रोमा १ सय २० र चौथोमा ५७ र पाँचौं समूहमा ६२ विद्यालय रहेका छन्। दुवै जिल्लाका गरी २ हजार १ सय २२ विद्यालय भवन तत्काल पुनःनिर्माण गर्नुपर्ने देखिएको छ।

तथ्याङ्कअनुसार दुवै जिल्लामा गरी २ हजार १ सय २८ विद्यालय आंशिक क्षति भएको छ। तथ्याङ्कअनुसार दुवै जिल्लामा ६ हजार ६ सय ८१ कक्षाकोठा क्षतिग्रस्त भएको छ। जाजरकोटमा २ सय ८६ र पश्चिम रूकुममा २ सय २६ गरी ५ सय १२ शौचालय क्षतिग्रस्त भएका छन्।

शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक दीपक शर्माले भूकम्पले पूर्ण रूपमा ध्वस्त भएका विद्यालय भवन तत्काल निर्माण गर्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो–तथ्याङ्क संकलन गरिसकेका छौ, विस्तृत विवरण तयार भएपछि पुनःनिर्माण गर्दा लाग्ने खर्चको अनुमान निकाल्नेछौं। भूकम्पका कारण १० हजार विद्यार्थी घर र पुस्तकविहीन भएका थिए।

ती जिल्लाको विद्यालयमा अध्ययनरत १ लाख ३३ हजार ६ सय ८७ जनामध्ये ४० हजार १ सय १० विद्यार्थी भूकम्पबाट प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस्