फोहोरको दररेट तोक्दै महानगर

महानगरको फोहोर महानगरमै व्यवस्थापन गर्ने



काठमाडौैं ।

काठमाडौं महानगरपालिकाले महानगरक्षेत्रभित्र संकलित फोहोर महानगरक्षेत्रमै व्यवस्थापन गर्ने भएको छ। फोहोर घटाउने रणनीतिअनुसार महानगरले संकलित फोहोर महानगरक्षेत्रमै व्यवस्थापन गर्नसंकलन गर्ने क्षेत्रको खोजी गर्न लागेको जनाएको छ।

बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन खर्च अत्यधिक हुन थालेको र फोहोर ढुवानी गर्न समस्या आउन थालेपछि महानगरक्षेत्रमै फोहोर व्यवस्थापन गर्न लागिएको हो।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले महानगरमा फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अध्ययन भइरहेको जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो भन्नुभयो– ‘फोहोरको मात्रा घटाउने योजनाअनुसार व्यवस्थापन प्रणालीमा सुधार गर्न लागेका हौं।’

कामपाले विभिन्न वडासँग समन्वय गरी ८ क्षेत्रमा फोहोर व्यवस्थापन केन्द्र सञ्चालन गर्न स्थान खोजी गरिरहेको जनाएको छ । घरबाट संकलन भएको फोहोर संकलन केन्द्रमै व्यवस्थापनगरी बाँकी लैजानै पर्ने फोहोर मात्रै ल्यान्डफिल साइटमा लैजाने बताएको छ।

विभागीय प्रमुख श्रेष्ठले भन्नुभयो–‘वडाभित्र रहेका सार्वजनिक क्षेत्रलाई फोहोर संकलन र ढुवानी केन्द्र बनाउनेछौं, त्यहाँबाट फोहोर छुट्याएर ल्यान्डफिल साइटमा नलगी नहुने फोहोर मात्र बन्चरेमा लैजाने तयारी भइरहेको छ।’

उहाँले सुख्खा फोहोर बिक्री गर्ने, गलेको फोहोरलाई मल बनाउने र नलगी नहुने फोहोरमात्र ढुवानी गर्न मिल्नेगरी योजना तर्जुमा भइरहेको जानकारी दिनुभयो।

कामपाले टेकु,बौद्ध,वालाजु, कोटेश्वरलगायतका क्षेत्रमा संकलनकेन्द्र स्थापना गर्ने तयारी गरेको छ भने ती केन्द्रबाट संकलन भएको फोहोर छुट्याएर बिक्रीगर्ने तयारीसमेत गरेको छ । छुट्याएको फोहोर कति दरभाउमा बिक्री गर्ने भन्ने विषयमा कार्यपालिकाको बैठकले निर्णय गर्ने छ।

कामपाले अब भित्री शहरी क्षेत्रको फोहोर मात्र संकलन गर्ने छ। बाँकी क्षेत्रको फोहोर ठेक्कामार्फत् निजी क्षेत्रलाई संकलन, व्यवस्थापन र ढुवानीको जिम्मा लगाउने तयारी गरिरहेको छ।

हाल महानगरको अधिकांश क्षेत्रको फोहोर निजीक्षेत्रले व्यवस्थापन गरिरहेको छ। यसरी व्यवस्थापन गर्दा कामपालाई कुनै किसिमको राजस्व नआउने भएकाले अब निजी क्षेत्रसँग ठेक्कागरी तोकिएको शुल्कसहित फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी दिन लागेको बताइएको छ।

कामपाले हाल टेकु ट्रान्सफर स्टेसनबाट फोहोर छुट्याएर अति हानिकारक फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा लैजाने गरेको छ ।नछुट्याएको फोहोर ल्यान्डफिल साइट लैजान नपर्ने र संकलन स्थलबाटै फोहोर बेच्ने गरी कार्यविधि ल्याउने तयारीमा रहेको कामपाले चालु आवमै फोहोर संकलन र ढुवानी गर्न नयाँ कार्यविधि तयार गर्नेछ।

कामपाले खुला प्रतिस्पर्धामार्फत् फोहोरजन्य पदार्थ बिक्री गर्ने, फोहोरको दररेट कायम गर्ने, निजी क्षेत्रलाई कानुनी दायरामा ल्याउने र टेकु ट्रान्सफर स्टेसन र सिसडोलको माटोमुनिको फाहोर व्यवस्थापन गर्न नियम तर्जुमागर्न लागेको जनाएको छ। विशेषगरी फोहोर बिक्री गरेर महानगरको ढुवानी खर्च कम गरी आर्थिक उपार्जन गर्न फोहोर व्यवस्थापन कार्यविधि बनाउन लागेको विभागको भनाइ छ।

कामपाले फोहोर व्यवस्थापन प्रणाली व्यवस्थित गरी कार्यविधि तयार गर्न विभागीय प्रमुख श्रेष्ठको संयोजकत्वमा समिति तयार गरेको छ।

समितिले बैठक बसेर फोहोर व्यवस्थापन कार्यविधि तयार गर्ने र सोही कार्यविधिको आधारमा फोहोर कामपाको फोहोर व्यवस्थापन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्