समाचारपत्रकर्मी तिमल्सिनासहित काभ्रेका ९  प्रतिभा सम्मानित



काभ्रे। 

प्रतिभा सम्मान प्रबन्ध गुठीले नेपाल समाचारपत्रकर्मी मोतीराम तिमल्सिनासहित काभ्रेपलान्चोक जिल्लाका विभिन्न क्षेत्रमा क्रियाशील ९ काभ्रेली प्रतिभाहरुको सम्मान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिभा सम्मान प्रबन्ध गुठीले छनौट गरेका ब्यक्तिहरुलाई सम्मान गरेका हुन् । तिमल्सिना निरन्तर काभ्रेपलान्चोक जिल्लामा रहेर पत्रकारिता गरिरहेका छन् ।

अध्यक्ष मोहन दुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकारत्रय भोला थापा, मोतीराम तिमल्सिना र दीपक सापकोटा सम्मानित भए । थापा र तिमल्सिना नेपाल पत्रकार महासंघ काभ्रे शाखाको अध्यक्ष भईसकेका छन् । थापा, तिमल्सिना र सापकोटा निरन्तर पत्रकारितामा क्रियाशील छन् । तिनै जना पत्रकारलाई २०७७ सालको प्रतिभा सम्मान पुरस्कार वितरण गरिएको थियो । पुरस्कार छनौट समितिले एक महिना अघि २०७७, २०७८ र २०७९ सालका उत्कृष्ट ब्यक्तिहरु छनौट गरी सम्मान गर्ने निर्णय गरेको थियो । कोभिड सङ्क्रमणका कारण सोही वर्ष देखि पुरस्कार वितरण गर्ने कार्य रोकिएको अध्यक्ष दुवालले बताए । हरेक वर्ष प्रतिभा छनौट गरी सम्मान गर्ने कार्यक्रम अन्र्तगत रोकिएका अघिल्ला दुई वर्षका प्रतिभा सहित तीन वर्षको सम्मान एकै पटक गरिएको हो । सम्मानित हुनेहरुलाई नगद १५ हजार, दोसल्ला सहित प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।

त्यस्तै २०७८ सालको प्रतिभा सम्मानबाट तीन जना साहित्यकारहरु सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा साहित्यकारहरु यादव खरेल, सूर्यप्रसाद लाकोजु र रत्नप्रसाद अनामणी छन् । तिनै जना लामो समय देखि साहित्य क्षेत्रमा क्रियाशील व्यक्तित्व हुन् । त्यस्तै २०७९ सालको सम्मानबाट काभ्रेका तीन उद्यमी महिलाहरु सम्मानित भए । उद्यमीहरुमा कमला लामा, निरु बैदार र ज्योत्सना सैंजु छन् । जिल्लामा लामो समय देखि विभिन्न क्षेत्रमा क्रियाशील महिला उद्यमीहरुले आफै उद्यम गरिरहेका छन् । उद्यमका साथै केही ब्यक्तिहरुलाई रोजगार समेत उपलब्ध गराएका छन् । सम्मानित भएका ९ जना ब्यक्तित्वहरुलाई नै नगद १५ हजार सहित दोसल्ला र प्रमाणपत्र उपलब्ध गराइएको छ ।

कार्यक्रममा बोल्दै काभ्रे जिल्ला प्रतिभा जन्माउने जिल्लाका रुपमा चिनिएको बताउँदै राष्ट्रलाई, समुदायलाई यस्ता प्रतिभाहरुको आवश्यक रहेको बताए । ‘प्रतिभा सम्मान प्रबन्ध गुठी जस्तै संस्था आवश्यक छन् । राज्यले यस्ता प्रतिभाहरुको सम्मान गर्दैन । यस्ता संस्थाले परिचालन र जागरुक गराउँछ’–कुलपति राईले भने–‘राज्यले प्रतिभाहरुलाई सम्मान गर्दैन । शासन मात्रै गर्छ । राज्यले प्रतिभा चिन्दैन । दलका नेताहरु मन्त्री, सांसद र नियुक्ति दिलाउन मात्रै सक्रिय छन् ।’ काभ्रेपलान्चोक जिल्लाको बनेपामा स्थापित उक्त संस्था मार्फत जिल्लामा पहिलो पटक उपस्थित हुन पाएकोमा खुसी व्यक्त गर्दै कुलपति राईले सम्मानित प्रतिभाहरुलाई बधाई दिए ।

अध्यक्ष मोहन दुवालले ’ काभ्रेपलान्चोक जिल्लाको बनेपामा स्थापित उक्त संस्था मार्फत जिल्लामा पहिलो पटक उपस्थित हुन पाएकोमा खुसी व्यक्त गर्दै कुलपति राईले सम्मानित प्रतिभाहरुलाई बधाई दिए । अध्यक्ष मोहन दुवालले २०५४ सालमा स्व.रामभक्त कोख श्रेष्ठको अध्यक्षतामा स्थापित प्रतिभा सम्मान प्रबन्ध गुठीमा दोस्रो अध्यक्ष हरिभक्त भोक्षिभोया र तेश्रो अध्यक्षका रुपमा आफै जिम्मेवारीमा रहेको बताए । ‘संस्थाको उद्देश्य बनेपा रहेका प्रतिभाहरुको सम्मान गर्ने भन्ने थियो । कोषमा जम्मा गरिएको रकम पनि बनेपाका स्थानीयहरुले नै जम्मा गरेका हुन्’–अध्यक्ष मोहन दुवालले भने–‘बनेपाबाट बाहिर निस्कनु पर्छ । जिल्लाबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्तरका ब्यक्तिहरुको सम्मान गर्न सुरु गर्ने उद्देश्यले संस्थाको उद्देश्यलाई बृहत्त बनाउँदै निरन्तर त्यस्ता ब्यक्तिहरुको सम्मान सुरु गरिएको छ ।’ पहिलो सम्मान बनेपाका शिक्षासेवी एवं पत्रकार स्व. भरतराज श्रेष्ठलाई ५१ हजार १ सय ११ रुपैया नगद सहित सम्मान गरिएको बताउँदै अध्यक्ष दुवालले हर्षलाल ख्वाखल बादे श्रेष्ठ, मोहन दुवाल, राधेश्याम प्रधानलाई ५१ हजार १ सय ११ रुपैयाँले सम्मान गरिएको थियो।

त्यस्तै स्वास्थ्य क्षेत्रबाट काभ्रेका डा. बालकृष्ण थापा र सोनी शाक्य सम्मानित भए भने समासेवाबाट दिलसुन्दर श्रेष्ठ र हरिभक्त भोक्षिभोया सम्मानित भए । हास्यब्यंङ्ग साहित्य र धर्म सेवाबाट मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र डा. अनोजा भिक्षुणी सम्मानित भए । महिला पत्रकारहरुबाट कृष्णा ताम्राकार, भगवती तिमल्सिना र सिर्जना दुवाल सम्मानित भए । मानवअधिकारका क्षेत्रमा क्रियाशील प्रदीप पोखरेल, भोजराज तिमल्सिना र राजु सरकार सम्मानित भए । कार्यक्रममा सचिव विद्यान जोशी, सदस्य राजु सरकार, प्रकाश कायश्थले गुठीले गरेका विभिन्न कार्यका साथै व्यक्तित्व परिचय सहित धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा सम्मानित प्रतिभाहरु, पुर्व न्यायाधीश एवं ज्ञानज्ञुन प्रतिष्ठानका अध्यक्ष शेषराज शिवाकोटी, राष्ट्रिय कवि तथा वरिष्ठ साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ, प्राज्ञिक सदस्य चेतनाथ धमला, लोकगायक मच्छेश्वर सापकोटा लगायतले प्रतिभा सम्मान प्रबन्ध गुठीले गरेका विभिन्न कार्यको चर्चा गरेका थिए । गुठीमा ८ लाखको मुद्दती कोष छ । कोषमा बनेपामा जन्मिएर विभिन्न क्षेत्रमा क्रियाशील ब्यक्तिहरु तथा बनेपामा रहेर विभिन्न क्षेत्रमा क्रियाशील ब्यक्तिहरुले सहयोग गरेका छन् । गुठीमा वरिष्ठ साहित्यकार मोहन दुवाल अध्यक्ष रहेका छन् भने उपाध्यक्षमा यातायात क्षेत्रका प्रखर व्यक्तित्व योगेन्द्रनाथ कर्माचार्य उपाध्यक्ष, सहकारी तथा साहित्य र विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व विद्यान जोशी सचिव छन् । कोषाध्यक्ष समाजसेवी कमला मल्ली छिन् । सदस्यहरुमा राजु सरकार, प्रकाश कायश्थ र दीनदयालु बादे श्रेष्ठ रहेका छन् । सबै सामाजिक क्षेत्रका क्रियाशील ब्यक्तिहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्