सेतो पहरामा कार दुर्घटना हुँदा डा. गौतमसहित पाँच जनाको मृत्यु



काठमाडौँ।

बाल एवं एलर्जी रोग विशेषज्ञ डा. महेशकुमार गौतमसहित उनकी छोरी, छोरा, सासू र ससुराको निधन भएको छ ।

काठमाण्डौको चन्द्रागिरी नगरपालिका–४ सेतो पहरामा कार दुर्घटना हुँदा डा. गौतमसहित मैतिदेवी बस्ने डा.गौतमका ससुरा ६७ वर्षका ओमकार निधि तिवारी, ६४ वर्षीया सासु कल्पना तिवारी, डा. गौतमकी ६ वर्षीया छोरी स्मारिका गौतम र ४ वर्षका छोरा प्रियान्स गौतमसहित पाँच जनाको ज्यान गएको हो । दुर्घटनामा डा. गौतमकी श्रीमती सृष्टि तिवारी मात्र बाँच्न सफल भएकी छन् ।

काठमाण्डौबाट चित्लाङतर्फ गइरहेको प्रदेश तीन ०१, २३ च ६९५८ नम्बरको कार सडकबाट खस्दा पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिएका छन् ।

कार बिहान ११.५५मा हिमचुली सेतो पहरास्थित सडकबाट पाँच सय मिटर तल खसेको थियो। उकालोबाट कार व्याक हुन थालेपपछि ढुंगाको आड लगाएर रोक्न सकिन्छ कि भनेर झरेकी महेशकी श्रीमती डा. सृष्टी तिवारी मात्र बाँच्न सफल भएको स्वर्गीय डा. महेशको एकजना आफन्तले जानकारी दिए ।

डा. सृष्टी नेपाल क्यान्सर हस्पिटलमा क्यान्सर विशेषज्ञ हुन । ३८ वर्षीय स्वर्गीय डा. महेश गौतमले लाजिम्पाटस्थित आफ्नै घरमा नेशनल आस्थ्मा एलर्जी सेन्टर सञ्चालन गर्दै आएका थिए । बालबालिकासम्बन्धि आस्थ्मा र एलर्जीसम्बन्धि उनी अव्वल डाक्टर हन । डा. गौतम पेडियाट्रिक अस्थ्मा एलर्जी इम्मुनोलोजी प्राक्टिसनर्स सोसाइटी अफ नेपाल (पेआप्सन) अध्यक्ष एवं लायन्स क्लव अफ काठमाण्डौ रेडियन्सको निवर्तमान अध्यक्ष हुन ।

मृतकहरुको शरीर पोष्टमार्टमका लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज राखिएको छ । डा. महेशको बुबा आमा अमेरिकामा दाइ भएको ठाउँमा गएकाले उनीहरु आएपछि मात्र दाहसंकार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्