अनेमसंघले गर्‍यो जिल्ला–जिल्लामा महिला नेतृत्व स्थापितदेखि आफ्नै घर बनाउनेसम्मका निर्णय



काठमाडौँ । 

नेकपा एमालको जनबर्गीय संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) ले पार्टीको जिल्ला नेतृत्वमा महिला स्थापित गर्नेदेखि आफ्नै भवन निर्माणसम्मको अभियान चलाउने निर्णय गरेको छ । अध्यक्ष टुका हमालको अध्यक्षमा शुक्रवार काठमाडौंमा बसेको केन्द्रीय कमिटीको तेस्रो बैठकबाट अनेमसंघले यस्तो निर्णय गरेको हो ।

अनेमसंघकी सचिव बिनादेवी राईलेलाई दिएको जानकारी अनुसार बैठकले तीन महिने अभियान सञ्चालन गर्ने निर्णयसहित कार्ययोजना पारित गरेको छ । ‘अवको तीन महिना संगठन सुदृढीकरण अभियानको महिना बनाउने निर्णय बैठकले गरेको छ,’ सचिव राईले भनिन् । सचिव राईका अनुसार अभियानको क्रममा सात वटै प्रदेशमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालनदेखि जिल्ला र पालिकामा पनि प्रशिक्षण कार्यक्रम सम्पन्न गरिनेछ ।

केन्द्रीय प्रचार विभाग प्रमुख कालिका पाठकले बैठकले अभियानका क्रममा गर्ने अन्य ठोस योजना पारित गरेको बताइन् । प्रमुख पाठकका अनुसार बैठकले अभियानको क्रममा ‘घरघरमा अनेमसंघ, हर घरमा अनेमसंघ’ भन्ने नारा तय गर्दै सदस्यता बिस्तारको विशेष योजना बनाएको छ । ‘एक घर एक सदस्य, एक टोल एक कमिटी अभियान सञ्चालन गर्ने निर्णय भएको छ । यस अभियानमा एक बर्षभित्र ५ लाख सदस्य बिस्तार गर्ने निर्णय गरिएको छ,’ प्रचार विभाग प्रमुख पाठकले भनिन् ।

यस्तै बैठकले सम्मेलन गर्नुपर्ने समय पुगेका जिल्ला, पालिका, वडा र टोल कमिटीमा अधिवेशन गर्ने निर्णय पनि बैठकले गरेको छ । यसैगरी बैठकले १३ बुँदे कार्यक्रम पारित गरेको छ । पारित कार्यक्रममा सवै क्षेत्रमा समान सहभागिताको कार्यक्रम, आर्थिक अधिकार तथा आत्मनिर्भरताको कार्यक्रम, मानव अधिकार तथा सामाजिक न्यायको कार्यक्रम, महिला हिंसाविरुद्धको कार्यक्रम, संविधान कार्यान्वयनको कार्यक्रम, महिला स्वास्थ्यको कार्यक्रमलगायत रहेका छन् ।
बैठकले दुई बर्षभित्र आफ्नै भवन निर्माण गर्ने निर्णयसहित उपमहासचिवको नेतृत्वमा आर्थिक संकलन समिति गठन गरेको छ । यस्तै बैठकले आर्थिक नियमावली पारित गरेको सचिव बिनादेवी राईले जानकारी दिनुभयो ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, जनसंगठन समन्वय संयन्त्रका प्रमुख रहेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, अनेमसंघ इञ्चार्ज सीता पौडेललगायतका नेताहरुले आफ्नो धारणासहित निर्देशन दिएका थिए  । बैठकमा ढकालले पार्टीको जिल्ला अधिवेशन चलिरहेको भन्दै जिल्लामा महिला नेतृत्व स्थापित गर्ने अभियानमा लाग्न अनेमसंघलाई सुझाव दिएका थिए ।

‘आगामी जेठ महिना भित्र पार्टीका सबै जिल्लाहरुमा जिल्ला सम्मेलन सम्पन्न गर्ने समय सीमा भएकाले अनेमसंघले जिल्लाहरुमा महिला अध्यक्ष बनाउनका लागि दवाव दिनुपर्छ,’ ढकालको भनाई थियो । उनले अनेमसंघ निर्णायक मतदाता भएकाले पार्टीलाई प्रभाव पार्न सक्ने भन्दै नेतृत्वमा दावी गर्न सुझाउनु भएको प्रचार बिभागका उपप्रमुख सिर्जना आचार्यले जानकारी दिइन्  ।

अनेमसंघ अध्यक्ष टुकाभद्र हमालको अध्यक्षतामा भएको बैठकमा इन्चार्ज सीता पौडेलले अनेमसंघलाई संगठन विस्तारमा ध्यान दिन निर्देशन दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्