भालुवाङमा बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो



घोराही ।

दाङको भालुवाङस्थित राप्ती पुलबाट शुक्रवार राति यात्रुवाहक बस खस्दा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले सबैकोको घटनास्थलमा मृत्यु भएको जानकारी दिए । शवहरू गाडीले च्यापिएको अवस्थामा थिए । सुरक्षाकर्मी र स्थानीयले शव निकालेका हुन् ।

नेपालगन्जबाट काठमाडौं जाँदै गरेको भे १ख ३९१२ नम्बरको यात्रुवाहक बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट एक्कासि नदीमा खसेको थियो। बसको आधा भाग पानीमा र आधा बाहिर रहेको छ ।

३६ यात्रु सवार रहेकोमा १२ जनाको ज्यान गएको र बाकी सबै घाइते रहेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए । तीव्र गतिका कारण अनियन्त्रित भई बस पुलबाट खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।

यस्तै दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडाैं  चन्द्रगिरी नगरपालिका वडा नम्बर १५ निवासी ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेश अतिकुल्ला खैरे निवासी ३१ वर्षीय मुने, जुम्ला श्रीथुस्का ९ निवासी ४० वर्षीय मुन बहादुर रावत, बाँके निवासी ३० वर्षीय रामवर्ण हरिजन, रुकुम गोतामकोट वडा नम्बर ९ निवासी दीपक कामी, भारत विहार अरेराज पुर्वी चम्पारण निवासी ६७ वर्षीय योगेन्द्र राम (जोगेन्द्र राम टिकटमा भएको नाम)बाँके नेपालगन्ज उपमहानगरपालिका निवासी ६० वर्षीय कुसुम बस्नेत र मकवानपुर हेटौंडा निवासी ३९ वर्षीय सौरभ विष्ट रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

अन्य चार जनाको सनाखत हुन बाँकी छ । शवलाई लमहीस्थित अस्पतालमा राखिएको छ । २३ जनालाई उपचारका लागि बुटवल र नेपालगञ्ज रिफर गरिएको छ । धेरैजसोको बसले च्यापिएर मृत्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्