वीर अस्पतालका कामचोर कर्मचारीलाई छानीछानी कारबाही गर्ने स्वास्थ्यमन्त्री बस्नेतको चेतावनी



काठमाडौं। 

 स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जिम्मेवारी निर्वाह नगर्ने वीर अस्पतालका कामचोर कर्मचारीलाई छानीछानी कारबाही गर्ने चेतावनी दिएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा शुक्रबार आयोजना गरिएको पुस्तक हस्तान्तरण एवं मेमोग्राफी सेवाको उद्घाटनका अवसरमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले निजी स्वार्थका लागि वीर अस्पताललाई बदनाम गर्दै हिँड्ने, जिम्मेवारी निर्वाह नगर्ने, वीरका विषयमा नकारात्मक समाचार लेखाउने कामचोर कर्मचारीलाई छानीछानी कारबाही गर्ने बताएका हुन ।

 मन्त्री बस्नेतले भने, ‘ वीर अस्पतालमा दिन रात काम गर्ने कर्मचारी पनि छन् । अर्कोथरि कामै नगरेर आफ्नो स्वार्थ पुरा गर्न जे पनि गर्ने कर्मचारी छन् । कामचोर र वीर बदनाम गराउने कर्मचारीलाई ऐन संशोधन गरेर भए पनि ठेगान लगाइन्छ ।’  विभिन्न स्वार्थ समूहले आफ्नो स्वार्थ पुरा नहुँदा अस्पतालमा ताला लगाउनेसम्मको अनुशासनहीन काम भएको पाइएको बताउँदै स्वास्थ्य मन्त्री बस्नेतले अर्को पटक कुनै पनि बहानामा बिरामीको उपचार प्रभावित पारेर ताला लगाइए ठिक नहुने चेतावनी दिए ।

 जनताको भरोसाको केन्द्रका रुपमा रहेको वीर अस्पतालको सेवा सुधार्न आफू तल्लीन रहेका बेला वीर अस्पताल बदनाम गरेर आफ्नो स्वार्थ पुरा गर्न पल्केका कर्मचारी मन्त्रीका विरुद्धमा बिरामीको खानाको बजेट काट्यो भन्दै बदनाम गराउन खोजेकोमा आक्रोश व्यक्त गर्दै अर्थ मन्त्रालयबाट बजेट कटौती गर्ने बेला केही कमजोरी भएको हुन सक्ने बताए । मन्त्री बस्नेतले भने, ‘ म वीर अस्पतालमा सहित देश भरिका अस्पतालमा विपन्नलाई कसरी निःशुल्क सेवा दिन सकिन्छ भनेर लागिरहेको छु । तर मेरा विरुद्ध नै स्वास्थ्य मन्त्रीले वीरका बिरामीको खानाको बजेट काट्यो भनेर समाचार लेखाए । यस्तो झुटको खेती धेरै दिन चल्दैन । ’ अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा बजेट कटौती गर्दा वीरको १३ वर्ष उपशीर्षकको बजेट कटौतीमा परेको उक्त रकम अर्थले पठाइसकेको बताउँदै स्वास्थ्य मन्त्रीले बिरामीको खानाको बजेट काट्यो भनेर समाचार लेखाएर आफूलाई बदनाम गर्ने काम वीरकै बदमास कर्मचारीले गरेको बताए । मन्त्री बस्नेतले भने, ‘फटाहाहरुलाई कारबाही गर्ने औषधि मसँग छ । वीर अस्पताल बदनाम गरेर रमाउनेहरुको औषधि कसरी गर्नु पर्छ मलाई राम्ररी थाहा छ । ’ मन्त्री बस्नेतले वीरको सेवा सुधार गर्न आफू  लागिपरेको बताउँदै निकट भविष्यमै मुटुरोगको उपचारका लागि अत्याधुनिक उपकरण जडान गर्ने र जलन उपचारको सेवा विस्तार गरिने बताए ।

 कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका उपकुलपति प्रा. डा. भूपेन्द्र बस्नेतले स्वास्थ्य मन्त्रीले बिरामीको खानाको बजेट कटौती नगरेको प्रस्ट पार्दै अर्थले उक्त शीर्षकको बजेट छुटाएकोले भर्खरै अर्थले वीरलाई साढे ४  करोड ५० लाख बजेट दिइसकेको बताए । वीर अस्पतालले बिरामीको खाना कहिल्यै नरोकेको उपकुलपति डा. बस्नेतले बताए । उक्त कार्यक्रममा विश्व स्वास्थ्य संगठनको नेपाल स्थित कार्यालयले न्याम्सलाई कसरी १५ लाख रुपैयाँ बराबरका पुस्तक हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्